सरकारद्वारा वितरण गरिने राहत प्रक्रियाकाे अन्टुफले सूक्ष्म अनुगमन गर्दै

१८ चैत ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले आफू मातहतका कमिटीहरुलाई सरकारले वितरण गर्ने सबैप्रकारका राहत कार्यक्रममा संगठनको तर्फबाट सक्रिय सहभागिता जनाउन निर्देशनात्मक परिपत्र जारी गरेको छ ।

मंगलबार महासंघका अध्यक्ष जगत बहादुर सिम्खडाद्वारा हस्ताक्षरित परिपत्रमा यस्तो निर्देशन जारी गरिएको अन्टुफ स्रोतले हाकाहाकीलाई बताएको छ ।

अन्टुफ स्रोतका अनुसार महासंघले मातहतका सबै कमिटी र पेशागत संगठनलाई स्थानीय तह र वडास्तरबाट संकलन गरिने लगत सूची र वितरण गरिने राहत कार्यक्रममा पारदर्शिता भए नभएको अप्रत्यक्ष अनुगमन गर्न समेत सुझाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) विश्वभर महामारीका रुपमा फैलिएको र नेपालमा पनि यसको संक्रमण देखापरेसँगै चैत्र ११ गदेदेखि देश लकडाउनमा गएपछि अखिल नेपाल ट्रेड युनियन महासंघले आमसञ्चार लगायत विभिन्न माध्यमबाट अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरू साथै औपचारिक क्षेत्रमै रहेका तर विपन्न वर्गका नागरिकको पहिचान गरी आधारभूत अवश्यकतापूर्तिका निम्ति राहत उपलब्ध गराउन सरकारलाई पटकपटक आग्रह गर्दै आएकोमा मन्त्रिपरिषद्को २०७६/१२/१६ गते बसेको बैठकले स्थानीय तहले विपन्नताको लगत संकलन गरी सूची तयार पारेर कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहत वितरण गर्ने निर्णय गरेको थियो ।

स्रोतका अनुसार महासंघले मातहतका कमिटी र नेतृत्वलाई जारी गरेको परिपत्रमा “आ–आफ्नो क्षेत्रमा रहेका दैनिक गुजारा टार्न धौ–धौ भएका अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु, दैनिक ज्यालादारी मजदुरहरु, अति विपन्न वर्गका नागरिकहरु, अभिभावक नभएका असहायहरु, आफ्नो आय स्रोत केही नभएका नागरिकहरु, अनाथालय, आश्रम र वृद्धाश्रममा बस्नेहरु, संरक्षण गृह, मठ–मन्दिर, गुम्बा एवम् मस्जिदजस्ता धार्मिक स्थलको सहारामा लिई बाँचेका असहाय व्यक्तिहरु र सम्बन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारहरुको लगत संकलन गर्न र लगत संकलन पश्चात स्थानीय तह र वडास्तरबाट वितरण गरिने सबैप्रकारका राहत कार्यक्रममा संगठनको तर्फबाट सक्रिय सहभागिता जनाउन निर्देशन गरेको छ ।”

यस्तै सरकारले चैत्र २५ गतेसम्म अत्यावश्यक काममा बाहेक घरमै बस्न आदेश जारी गरेको हुँदा त्यस अवधिभर संगठनको तर्फबाट सर्वसाधारण नागरिकलाई कोभिड १९ सम्बन्धी लक्षणहरु र यसबाट बच्न अवलम्बन गर्नुपर्ने उपायहरु/विधिहरुबारे जानकारी गराउन र संक्रमणको आशंका लागेमा तुरुन्तै नजिकको अस्पताल वा सरकारले तोकेको निकायमा सम्पर्क गर्न, गराउन विशेष पहल लिन समेत परिपत्रमा उल्लेख गरिएको स्रोतले बताएको छ ।

यसैबीच अखिल नेपाल ट्रेड युनियन महासंघ र विभिन्न पेशागत संगठनहरुले देश लकडाउनमा गएपछि विभिन्न स्थानमा कामका सिलसिलामा पुगेर अलपत्र परेका १ सय जनाभन्दा बढी मजदुरहरुलाई उनीहरुका गृह जिल्लासम्म पु-याउन भूमिका खेलेको थियो ।

  •  
  •  
  •  
  •  
  •