अहिलेकै तरिकाले वितरण गर्ने हो भने वास्तविक मजदुरहरु राहतबाट बञ्चित हुनेछन् – अमित लामा

पाल्पामा अलपत्र परेका मजदुरहरु दाङ जाने तयारी गर्दै । तस्बिर: अमित

२० चैत ०७६, काठमाडौं । अखिल नेपाल निर्माण मजदुर संघका अध्यक्ष अमित लामाले अहिलेकै तरिकाले स्थानीय तहले राहत वितरण गर्दा वास्तविक श्रमिकले राहत नै नपाउने बताएका छन् ।

मजदुरहरुले राहत प्राप्त गर्न लागि स्थानीय तह वडाले घरबेटीको सिफारिस लिनुपर्ने भएपछि निर्माण स्थलमै टहरा बनाएर काम गर्ने ज्यालदारी मजदुरहरुको घरबेटी नहुने र ठेकेदार सम्पर्कबाहिर गएपछि निर्माण मजदुरहरु सबैभन्दा समस्या परेको उनले बताएका हुन् ।

“घटनाक्रमले सरकारले वितरण गर्दै गरेको राहत दैनिक ज्यालादारीका लागि भनिए पनि त्यो पहुँचवाला र घरभाडामा बस्नेले मात्रै पाउने हो भने वास्तविक श्रमिकहरु छुट्ने अवस्था आएको छ” अध्यक्ष लामाले भने, “स्थानीय तहले वितरण गरेको राहत अहिलेकै तरिकाले वितरण गर्ने हो भने हजारौं दैनिक ज्यालादारी गर्ने मजदुरहरु राहतबाट बञ्चित हुनेछन् ।”

उनले ट्रेड युनियनहरुका स्थानीय प्रतिनिधिहरुसँग समन्वय गरेर स्थानीय तह र वडाले राहत बाँड्ने हो भने राहत वास्तविक श्रमिक र साँझबिहान खानै नपाउने वर्गसम्म पुग्ने बताए ।

अध्यक्ष लामाले पाल्पाको रामपुरमा सडक मजदुरका रुपमा कार्यरत अलपत्र परेका श्रमिकहरुलाई अखिल नेपाल निर्माण मजदुर संघको विशेष पहलमा गृह जिल्ला दाङ पठाएको समेत जानकारी दिएका छन् ।

पाल्पामा अलपत्र परेका सडक मजदुरहरु दाङ र सुर्खेत जाने तयारी गर्दै । तस्बिर अमित

उनले दाङ जिल्ला घोराही उपमहानगरपालिका १३ वडाका १७ जना मजदुरहरुलाई निर्माण मजदुरको पहलमा जिल्ला प्रशासन कार्यालयबाट पास लिई घरतर्फ पठाइएको र १९ गते बिहान लमही बजार नजिकै रहेको अर्जुनखोला पुगेको बताए ।

चैत्र १८ गते राती १२ः०० बजे पाल्पाबाट छुटेको बस बिहान ०७ः०० बजे दाङ जिल्लाको लमही बजार नजिकै अर्जुनखोला भन्ने स्थानमा १ जना बच्चासहित १७ जना मजदुरहरुलाई छोडेर उक्त बस बाँकी १६ जना मजदुर लिएर सुर्खेत गएपछि अखिल नेपाल निर्माण मजदुर संघ दाङ, जिल्ला सदस्य शान्त बि.क., प्रदेश नं. ५ का उपाध्यक्ष तथा दाङ जिल्ला महासंघ सचिव अक्ष्य कुमार चौधरी र स्थानीय जनप्रतिनिधिको पहलमा अलपत्र परेका १७ जना मजदुरलाई दिउँसो १२ः३० बजे दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १३ तर्फ पठाइएको छ ।

उनले उद्दार गरिएका व्यक्तिहरु राम बहादुर बि.क., कृष्ण बि.क., उमेश मोहरा, आइते बि.क., हरि बि.क., रामलाल नेपाली, दिलबहादुर बि.क., सपना बि.क., सचिन बि.क., फुलमाया बि.क., बामु बि.क., बिजय बि.क., राजकुमारी बि.क., शान्ति नेपाली, सन्जु नेपाली, सरस्वती बि.क. र पृथ्वी बि.क. रहेका बताए ।

यसैगरी अध्यक्ष लामाले दाङबाट उद्दार पठाइएका ४ जना मजदुर भक्तपुर आइपुगेको र कालिका कन्सट्रक्सन मनोहरा करिडोर ललितपुर बालकुमारीमा कार्यरत २५० बढी मजदुरहरु घर फर्किन नपाएपछि विपतमा परेको बताए ।

  •  
  •  
  •  
  •  
  •