हाम्रो संयमताले समाज र राष्ट्रलाई कोरोनाबाट जोगाउन सकिने राष्ट्रपतिको भनाई

२१ चैत ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्रो संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरस (कोभिड(१९)बाट जोगाउन सकिने बताएकी छन् ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

‘आफ्नो परिवार छरछिमेक र समुदायको अमूल्य जीवन जोगाउन लकडाउनको बेलामा संयमित भएर घरबाहिर निस्कन हुँदैन्’ राष्ट्रपति भण्डारीले भनिन्, ‘आ–आफ्नो घर बसेर सामाजिक दूरी कायम गरेर यो रोगको रोकथाम गर्न सहज हुन्छ ।’

उनले कोरोनाविरुद्धको लडाइँमा मानवजाति विजयी हुने भन्दै यो लडाइँमा सरकारले लिएका नीति र चालेका कदमलाई साथ दिन अपिल गरेकी छन् ।

‘कुनै भावनामा नबगी कोरोना भाइरसको गाम्भीर्यलाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन अपिल गर्छु’ राष्ट्रपति भण्डारीले सम्बोधनमा भनेकी छन् ।

चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरुलाई महामारीका बेलामा अग्रमोर्चामा रहेर काम गरिरहेकोमा खुलेर प्रशंसा गर्दै उनले कोरोनाबाट संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।

राष्ट्रपति भण्डारीले यस महामारीको समयमा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई आवश्यक सतर्कतासहित सुरक्षित रहन आह्वान गरिन् ।

  •  
  •  
  •  
  •  
  •