कोरोनाको १३ सय ५६ वटा नमूना परीक्षण, १३ सय ५० रिर्पोट नेगेटिभ

२१ चैत ०७६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्म १ हजार ३ सय ५६ वटा नमुना परीक्षण भएकोमा १ हजार ३ सय ५० जनाको रिर्पोट नेगेटिभ आएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले शुक्रबार कोभिड–१९ को पछिल्लो अपडेट गर्दै ६ जना बाहेक सबैको रिर्पोट नेगेटिभ आएको बताएका हुन् ।

प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १२७७ जनाको नमूना ल्याव परीक्षण भएको बताए । यस्तै उनले धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान ३९ जना, पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरामा १९ जना, जनकपुरमा ५ जना, हेटौडामा ५ जना, सुर्खेतमा ७ र धनगढीमा ४ जनाको नमूना परीक्षण भएको जानकारी दिए । साथै, उनले बुटवलमा पनि जडान कार्य सुरु भइसकेको बताए ।

कोभिड–१९ को सम्भावित संक्रमण आशंकामा नेपालभर आइसोलेसनमा १२० जना रहेको बताउँदै प्रवक्ता देवकोटाले जसमध्ये उपत्यकामा १५ र उपत्याकाबाहिर १०५ जना रहेका जानकारी दिए ।

उनले कूल ६ जनामा कोरोना संक्रमित देखिए पनि हाल ५ जना मात्रै संक्रमित रहेको र १ जना निको भएर गइसकेको बताए । यी ५ जना मध्ये टेकुमा २ जना, बाग्लुङमा २ जना र धनगढीमा १ जना रहेको बताए ।

उनले कोरोना सम्बन्धी जानकारीका लागि कल सेन्टर १११५ र ११३३ मा सम्पर्क गर्न सकिने बताउँदै कल सेन्टरले ३ हजार ५०२ जिज्ञासालाई सम्बोधन गरेको पनि बताए ।

  •  
  •  
  •  
  •  
  •