यो संकटमा मेरो सरकार र पार्टी छ भनेर जनताले अनुभूत गर्न सकेका छैनन् – मणि थापा

गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको नयाँ भाइरस (कोभिड–१९)ले यतिबेला महामारीको रुप लिइसकेको छ । विश्वलाई आक्रान्त बनाएको यो भाइरस नेपालमा पनि देखा परेपछि सरकारले अत्यावश्यक काममा बाहेक घरभित्रै बस्न जारी गरेको पहिलो आदेशलाई संशोधन गर्दै चैत २५ सम्म पु-याएको छ । यसैबीच स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको पुष्टि गरिसकेको छ । यिनै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य मणि थापासँग हाकाहाकीले गरेको संक्षिप्त संवादको सम्पादित अंश….

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य, मणि थापा ।

देश लकडाउनमा, कोभिड–१९ संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ, वर्तमान संकटलाई कसरी लिनुभएको छ ?
विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) अन्तर्र्राष्ट्रिय समस्या बनेको छ । यो अन्तर्राष्ट्रिय समस्या भएपछि स्वतः राष्ट्रिय समस्या पनि हुने नै भयो । अब यस कोरोना भाइरसविरुद्ध हामीले अन्तर्राष्ट्रिय अनुभवलाई लिएर अन्तर्राष्ट्रिय रुपमै सामना गर्ने सामथ्र्य राख्नुपर्दछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले त्यहीरुपमा फेस गरिरहेको छ । स्वास्थ्य विद्हरुको भनाइअनुसार नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ र स्थिति झन जोखिम उन्मुख रहेको छ । यस्तो अवस्थामा मुलतः जनता आफैँ सचेत भई आत्मअनुशासनलाई पालना गर्नुपर्दछ । सरकारले लकडाउनको घोषणा गरेको छ र आफ्नो ड्युटीहरु गरिरहेकै छ । यसमा पार्टीहरुको गतिविधि पनि हुनु जरुरी छ । र, भइरहेको छ तर जुन रुपमा हुनुपर्ने हो; त्यो भएको छैन् ।

दैनिक ज्यालादारी गरेर गुजारा चलाइरहेका र विपन्न परिवारको दैनिकीमा त समस्या आयो नि, अब समस्यालाई सम्बोधन कसले गर्ने हो ?
हामी सामू, नेपालले यस्तो (बन्द)को समस्याहरु धेरै पटक सामना गरेको थुप्रै अनुभवहरु छन् । तर, यो समस्या चाँहि नयाँ र स्वास्थ्यसम्बन्धी समस्या छ । जसमा सामाजिक दूरी समेत कायम राख्नु पर्ने भएकाले यसका केही नयाँ विशेषताहरु रहेका छन् । नयाँ र फरक विशेषताहरुका कारणले गर्दा यतिबेला प्रत्यक्ष जनतासँग जोडिन केही समस्याहरु देखिएका छन् । तर पनि हामीले सामना गरेरै जानुपर्छ । यसको विकल्प पनि छैन् । लकडाउन थप भइसकेपछि मजदुर वर्ग र आधारभूत तहका विपन्न परिवार जसले दैनिक ज्यालादारी गरेर गुजारा चलाइरहेका थिए; उनीहरुको दैनिकी निकै ठूलो समस्या परेको सही हो । यस समस्याको समाधान मुख्यतः सरकारले गर्नुपर्छ । सरकारले नै यसको व्यवस्थापन गर्नुपर्छ । प्राइभेट पक्षले पनि व्यवस्थापनमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नु पर्छ । यस्तै राजनीतिक दल, सबै तहका जनप्रतिनिधिहरुले जनतालाई आफ्नो भोटर मात्रै ठान्नु भएन, छान्नु भएन, विना भेदभाव जनताको उचित व्यवस्थापन गर्नुपर्छ । राजनीतिक दलहरुले जनसंगठनलाई परिचालन गरेर वास्तविक पीडित परिवारले राहत पाउने स्थिति बनाउनु पर्दछ ।

के सरकार र राजनीतिक दलले जनताले अनुभूत गर्ने गरी भूमिका खेलेको जस्तो लाग्छ ?
यतिबेला नेपालको राजनीतिक, प्रशासनिक र व्यवस्थापकीय क्षमता त्यहाँ (आधारभूत जनताको तहमा) नपुगेको अनुभूति मलाई हुन्छ । पार्टीको फङ्सनका हिसाबले सरकार धेरै कमजोर देखेको छु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फङ्सनमा आउनुपर्छ र सबै राजनीतिक पार्टीहरुले जनतालाई सुरक्षा, संरक्षण र संकटमा राहत दिन सक्नुपर्दछ । यस संकटको घडीमा जनताले राहतको अनुभूत गर्न सक्नेगरी सरकारले उचित व्यवस्थापन गर्न सक्नै पर्छ ।

विभिन्न देशले विमान नै चार्टर गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको अवस्थामा नेपाल सरकारले कोरोना रोकथाम र नियन्त्रणका नाममा सीमा नाकामा नागरिक अलपत्र पारेर कस्तो व्यवस्थापन गरेको हो ?
पक्कै पनि, विभिन्न देशले आफ्ना नागरिकलाई विमान नै चार्टर गरेर आफ्नो मुलुकमा फर्काइरहेको सही हो । हाम्रो सन्दर्भमा नेपाल सरकारले सीमा नाकामा अलपत्र परेका नागरिकलाई नेपाल आउन रोकेर सही निर्णय गरेको छ भन्ने मलाई लाग्दैन । विशेष गरी भारतबाट आउने नागरिकहरु छन् । जो सीमा नाकामा आएर अलपत्र परेर बसिरहेको स्थिति छ । उनीहरुको एउटै माग आफ्नो देशभित्र पस्न पाउँ र मरे पनि देशभित्रै मर्न पाउँ भन्ने भावनात्मक अभिव्यक्ति छ र त्यसलाई सरकारले सम्बोधन गर्नुपर्छ । उनीहरुलाई देशभित्र प्रवेश गराएर कडाईका साथ क्वारेन्टाइन्मा राख्ने व्यवस्था सरकारले गराउन सक्नुपर्छ । दशगजामा नै आइपुगेका नागरिकलाई फर्काउने काम गर्न सरकारलाई सुहाउँदैन । यो सवालमा सरकारबाट न्यायीक काम भएको छैन् भन्ने मेरो व्यक्तिगत धारणा छ ।

जनताले मेरो सरकार छ है भनेर आत्मबोध गर्ने हिसाबले सरकार र राजनीतिक पार्टीहरुले काम गरेजस्तो लाग्छ ?
देशभित्र रहेका होस् वा देशबाहिर रहेका नेपाली नागरिकका स्वास्थ्य सुरक्षा र आधारभूत आवश्यकता पूर्ति गर्ने सवालमा सरकारले अहिले जुन कोशिस गरिरहेको छ; त्यो पुगेको छैन् । व्यवस्थापकीय क्षमता कमजोर देखिन्छ । भावनात्मक रुपले पनि आफ्ना नागरिकहरुलाई सहजीकरण गर्ने र उनीहरुलाई यो संकटको घडीमा मेरो सरकार छ है भनेर आत्मबोध गराउने लेभलबाट सरकार र राजनीतिक पार्टीहरुले सम्बोधन गर्न सकेका छैनन् । यसमा सरकारको मात्र दोष छैन्, पार्टीहरुको पनि दोष छ । कुनै पनि पार्टीहरुले यतिबेला जनतालाई सही रुपले सम्बोधन गर्न र उनीहरुलाई विश्वास र भरोसा दिन सकेको परिस्थिति देखिन्नँ । मेरो दृष्टिकोणबाट एउटा लिडर सीपको ल्याकिङ (नेेेेतृत्व अभाव) देखिरहेको छु ।

अन्त्यमा, यतिबेला विश्व नै कोरोना विरुद्धको लडाईंमा छ, अग्रभागमा रहेर लड्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई के भन्न चाहनुहुन्छ ?
दुई देशको बीच युद्ध भएमा अग्रमोर्चामा लड्ने सेनाहरुले हो, त्याग गर्ने लडाईं लड्ने उनीहरुले नै हो । त्यस्तो अवस्थामा देशको शान्ति सुरक्षाका निम्ति प्रहरीले त्याग र बलिदान गर्नुपर्ने हुन्छ । यतिबेला कोराना भाइरस (कोभिड–१९) को संक्रमणसँग देश लडिरहेको छ त्यसैले अग्रभागमा रहेर लड्ने भनेको चिकित्सक र स्वास्थ्यकर्मीहरुले हो । त्यसैले देश र जनातका लागि यो महामारीको बेलामा डाक्टर र स्वास्थ्यकर्मीहरुमा त्यागको भावना हुनुपर्छ । तर, नेपालमा लामो समयदेखि त्याग र बलिदानको भावना भन्दा पनि उपयोगतावादी चेतना हावी भएर गइरहेकाले समस्या उत्पन्न भएको देखिन्छ । तथापि, यतिबेला अरुलाई दोष दिएर हुँदैन । सरकार र हामी सबै (राजनीतिक दल)को व्यावस्थापकीय क्षमतामा प्रश्न उठेको छ । तर, कोभिड–१९ संक्रमण र समस्याको हामी सबै मिलेर सामना गर्नु पर्दछ; समााधान गर्नुपर्छ ।

  •  
  •  
  •  
  •  
  •