सप्तरीको विभिन्न स्थानमा आगलागी, पाँच लाखभन्दा बढी क्षति

२३ चैत ०७६, सप्तरी । आगलागीबाट सप्तरीका विभिन्न ६ स्थानीय तहमा पाँच लाखभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरीका अनुसार शनिबार कञ्चनरुप, बोदे बर्साइन, डाक्नेश्वरी, खड्क, सुरुङ्गा नगरपालिका र रुपनी गाउँपालिकामा आगलागी हुँदा आगलागीबाट पशुचौपायाको समेत मृत्यु भएको छ ।

लामखुट्टे धपाउन ५२ वर्षीय अनवरुल शेखले गोठमा बालेको घुरको आगो सल्किएर कञ्चनरुप नगरपालिका–१ मलकोरमा भएको आगलागीबाट ३ वटा गाई जलेको छ भने अगनु शेखको ३ वटा खसी र ५ वटा कुखुरा पनि जलेको प्रहरीले बताएको छ ।

यस्तै डाक्नेश्वरी ९ का राजलाल मेहताको गोठमा विद्युतको तार सर्ट भई आगलागी हुँदा अन्नपात जलेर नष्ट भएको छ । यस्तै डाक्नेश्वरीकै ३ का जिवरी, अजिज र सुदिनको तीन वटा परालको टालमा समेत आगलागी भएको छ ।

यसैगरी बोदेबर्साइन नगरपालिका ९ सिमराहा टोलका बेचन मण्डलको गोठ, वडा नम्बर ६ का फुलकाही बस्ने राम सेवक ठाकुर, सिया ठाकुर, ब्रम्हदेव ठाकुर, धर्मदेव ठाकुर र इन्द्र ठाकुरको परालको टाल पनि आगलागी भएको छ ।

प्रहरीले खड्क नगरपालिका–५ खोजपुरका लक्ष्मी नारायण साहको १० कठ्ठा खेतमा लगाएको गँहुमा, सुरुङ्गा नगरपालिका–३ दौलतपुरस्थित सत्यनारायण चौधरीको तीन वटा परालको टालमा र रुपनी गाउँपालिका–४ छपकी बस्ने महेन्द्र मलाहको गोठमा आगलागी भएको बताएको छ ।

  •  
  •  
  •  
  •  
  •