लकडाउन थपियो, बैशाख ३ सम्म घरमै बस्ने आदेश

२४ चैत ०७६, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २५ गते सम्म अत्यावश्यक काममा बाहेक घरमै बस्न जारी आदेशलाई संशोधन गरी बैशाख ३ सम्म लम्ब्याउने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि सरकारले लकडाउन अवधि ८ दिन थप गरेको हो ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई कडाईका साथ पालना गराउनु पर्नेमा जोड दिएका थिए ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने तयारी गरेका छन् ।

बैठकले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नरहेका मन्त्रीहरूलाई अतिरिक्त जिम्मेवारी दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्त नेम्वाङलाई प्रदेश १ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेशसँग समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

यसैगरी वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग समन्वय गर्न भनिएको छ ।

ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलाई प्रदेश नम्बर ५ सँग समन्वय गर्ने जिम्मा दिइएको छ । यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई प्रदेश २ सँग समन्वय गर्न भनिएको छ ।

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले भने सुदूरपश्चिम सरकारसँग समन्वय गर्ने निर्णय गरिएको छ ।

यसैगरी संसदमा उपस्थिति दलसँग समन्वय गर्ने जिम्मेवारी कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेलाई तोकिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई महिला, बालबालिका र जेष्ठ नागरिकहरूको जिम्मा पाएका छन् । साथै, युवा तथा खेलकुद मन्त्री जगत विश्वकमालाई स्वयंसेवक व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ ।

  •  
  •  
  •  
  •  
  •