राष्ट्रपतिद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

२८ चैत ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण भई उपचाररत् बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई राष्ट्रपति भण्डारीले बेलायती प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेलायतमा रहेका सबै नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गरेकी हुन् ।

नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग गत बिहीबार बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले टेलिफोन संवाद गरी नेपालमा रहेका बेलायती नागरिकको सुरक्षा तथा फिर्तीसम्बन्धी विषयमा कुरा गरेका थिए भने परराष्ट्रमन्त्री ज्ञवालीले बेलायतमा रहेका नेपालीको सुरक्षाबारेमा अवगत गराएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एक सन्देश पठाई प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •