गुणस्तरहीन राहत वितरण भएपछि स्टोरमा प्रहरीको सिलबन्दीसँगै अनुसन्धान सुरु

२९ चैत ०७६, बारा । जिल्लाका विभिन्न स्थानबाट गुणस्तरहीन राहत वितरण भइरहेको गुनासो आएपछि स्टोरमा प्रहरीको सिलबन्दीसँगै अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले गुणस्तरहीन राहत वितरण भइरहेको भन्ने गुनासो आएपछि वितरणमा बन्देज गर्ने तथा खाद्यान्न जफत गरी परीक्षणका लागि नमुना संकलन गरी पठाउन निर्देशन दिएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले राहत वितरणमा कमसल खाद्य वस्तु वितरण भएको गुनासो आएपछि कारबाही सुरु गरिएको बताए ।

उनले भने, ‘वितरण गरिएको राहत किरा लागेको, केही दाना कुहिएको गुनासो आयो, त्यसैले अर्को महामारी फैलन नदिन गुणस्तरहीन खाद्य सामग्री बिक्री गर्ने मिल, कारखाना, स्टोर, गोदाममा सिलबन्दी गर्न भनेको हुँ ।’

यसैबीच प्रहरीले शनिबार बिहान बाराको कलैया उपमहानगरपालिकास्थित पूर्वसभासद राधेचन्द्र यादवको नाममा रहेको यादव कोल्ड स्टोर्समा राहतका लागि वितरण गर्न राखिएको तीन सय ८० बोरा दालसहित सिलबन्दी गरेको छ ।

कलैया वडा नं. २० बसतपुरमा वितरण भएको दाल गुणस्तरहीन भएको गुनासो शुक्रबार साँझ प्रहरी समक्ष आएसँगै टोलीले गएर हेर्दा दाल गुणस्तरहीन रहेको आशंका गर्दै वितरणमा रोक लगाएर २५ बोरा नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले कोल्ड स्टोर्समा थप तीन सय ८० बोरा दाल भेटिएपछि गुणस्तर परीक्षणका लागि पठाइएको जानकारी दिए ।

डीएसपी मिश्रले भने ‘परीक्षण रिपोर्ट आएपछि गुणस्तरहीन रहेको पाइएमा खाद्य ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।’

वडाध्यक्ष महम्मद इमामुद्दीनले भने विपक्षीले राजनीति गरेका कारण राहत वितरणमा अवरोध भएको बताएका छन् । उनले भने, “विपक्षीले प्रशासनमा उजुरी गरिदियो, प्रमुख जिल्ला अधिकारीले नमुना संकलन गरेर परीक्षणका लागि पठाउनुभएको छ, अब नतिजा आएर जे आदेश हुन्छ, त्यही अनुसार अगाडि बढ्छौँ ।”

  •  
  •  
  •  
  •  
  •