नागरिकका समस्या हल गर्न तीनै तहका सरकार र जनप्रतिनिधिहरु जिम्मेवार बन्नु पर्छ – रेग्मी

३० चैत ०७६, काठमाडौं । अखिल नेपाल औद्योगिक मजदुर संघले कोरोना भाइरसको संक्रमित नेपालमा देखिएपछि सरकारले अत्यावश्यक काममा बाहेक घरमै बस्न आदेश जारी गरेसँगै मजदुरहरुको दैनिकीमा समस्या परेको बताएको छ ।

अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष भुम बहादुर रेग्मीले यो जटिल स्थितिमा केही अत्यावश्यक वस्तु उत्पादन गर्ने कारखानाहरु सञ्चालन हुँदा मजदुरहरुको आधारभूत आवश्यकता र स्वास्थ्य सुरक्षामा चुनौती देखिएको बताएका हुन् ।

सरकारले यस्तो जटिल परिस्थितिमा केही अत्यावश्यक बस्तु उत्पादन गर्ने कारखानाहरु सन्चालन अनुमानि पनि दिएको भन्दै उनले कुनै पनि नकारात्मक असरको जिम्मेवार सम्बन्धित रोजगारदाता र नेपाल सरकार नै हुने बताएका छन् ।

अध्यक्ष रेग्मीले लकडाउनका कारण नेपाल सरकारले समस्यामा परेका मजदुरहरुलाई बितरण गरेको राहत उनीहरुले प्राप्त गरे नगरेको अनुगमन गर्न पनि मातहतका कमिटीलाई निर्देशन गरेका छन् ।

अत्यवश्यक उद्योग चलिरहेकाले ती कारखानाहरुमा सरकारी मापदण्डअनुसार सुरक्षा विधि अपनाए नअपनाएको बुझेर नभए मापदण्ड कार्यान्वयन गर्न गराउन पहल गर्ने समेत उनले बताएका छन् ।

उनले यतिबेला एकातिर हजारौं मजदुरहरुको रोजगारी गुमेको र अर्कोतिर चुल्हो बल्न छोडेको भन्दै यसको दीर्घकालीन समस्या हल गर्न तीनै तहको सरकार र जनप्रतिनिधिहरु नागरिकका समस्या हल गर्न जिम्मेवार बन्नु पर्ने सुझाएका छन् ।

“नागरिकका समस्या हल गर्न तीनै तहका सरकार र जनप्रतिनिधिहरु जिम्मेवार बन्नु पर्छ” अध्यक्ष रेग्मीले भनेका छन् ।

  •  
  •  
  •  
  •  
  •