अन्टुफ सुदूरपश्चिम राहत वितरण गरी नयाँ वर्ष मनाउँदै

३० चैत ०७६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) सुदूरपश्चिम प्रदेशले “नयाँ वर्ष २०७७” राहत वितरणमा केन्द्रीत गरी मनाउने बताएको छ ।

महासंघका सुदूरपश्चिम प्रदेश इन्चार्ज नरहरि नाथ योगीले कोरोना भाइरसको कारण देश लकडाउनमा गएसँगै मजदुरहरुको दैनिकीमा समस्या परेको भन्दै नयाँ वर्ष श्रमिकलाई राहत वितरणमा केन्द्रीत गरेर मनाउने बताएका हुन् ।

उनले भने, “अन्टुफ केन्द्रीय समितिले घोषणा गरेको राहत र विपद् व्यवस्थापनको कार्यक्रमअनुसार हाम्रो प्रदेशले नयाँ वर्ष २०७७ लाई राहत वितरण र विपद् व्यवस्थापनकै रूपमा मनाउँदै छौं ।”

उनले वर्तमान संकटको घडीमा विश्वभरि करोडौं मजदुरले रोजगार गुमाइरहेका बेला नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह गम्भीर बन्नु पर्ने भन्दै दुरगामी नीति, योजना बनाएर अघि बढ्नु पर्ने बताए ।

यस्तै कोरोना भाइरसका कारण देश ठप्प हुदा दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई छाक टार्न समस्या परेको महासंघ सुदूरपश्चिम उपाध्यक्ष जगदिश सेठीले बताए ।

मजदुरहरूको अवस्थाअनुसार फरक–फरक मापदण्ड बनाई चामल, दाल, तेल र नुन जस्ता अत्यावश्यक खाद्य सामाग्री बितरण सुरू गरिएको पनि सेठीले जानकारी दिए ।

प्रदेश महासंघ, विभिन्न व्यक्ति, संघ–संस्था, राजनैतिक पार्टीहरूले राहत सामाग्री संकलन गरी स्थानीय तहलाई हस्तान्तरण गरी राहत वितरणमा सहयोग गरिरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •