सत्तारुढ दलनिकट ट्रेड युनियनले स्थानीय तहसँगको समन्वयमा मजदुरलाई राहत वितरण गर्दै

३० चैत ०७६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटअखिल नेपाल ट्रेड युनियन महासंघ र सम्बद्ध संघहरुले स्थानीय तह, वडाहरुसँगको समन्वय र सहकार्यमा समस्या परेका मजदुरहरुलाई अत्यावश्यक राहत सामग्री वितरण गरिहेको छ ।

अन्टुफसम्बद्ध अखिल नेपाल सरसफाइ मजदुर संघको पहलमा जनजागरुक सरसफाइ प्रा.लि को इकाई कमिटी का ५४ जना मजदुरलाई कोरोना भाइरसबाट सुरक्षित रहनका लागि ड्रेस, पन्जा, मास्क, गमबुठ साथै अन्य स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

जनजागरुका संचालक नारद गिरी र अखिल नेपाल सरसफाई मजदुर संघ काठमाडौ जिल्ला अध्यक्ष कुलबहादुर मगरको विशेष सक्रियतामा सरसफाईका लजिस्टिक उपकारण प्राप्त र बितरण गरिएको संघकी केन्द्रीय अध्यक्ष धुन दाहालले जानकारी दिएकी छन् ।

जनजागरुकका संचालक नारद गिरीले अति न्यून आय भएका श्रमिकहरुलाई मजदुरहरुको अवस्था हेरेर कम्पनीले राहत समेत दिने बताएको दाहालले बताइन् ।

यस्तै सरसफाई मजदुर संघ काठमाडौ जिल्ला अध्यक्ष कुलबहादुर मगरले आहतमा परेकाहरुलाई लामो प्रक्रियाबाट होइन सहज राहत सामाग्री उपलब्ध गराउन पर्ने भन्दै राहतमा राजनीति नगरीकन, नक्कली लगत खडा नगरी राहत वितरण गरियोस् भनी आग्रह गरेका छन ।

यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीले लकडाउनका कारण प्रत्यक्ष प्रभावित दैनिक ज्यालादारी मजदुरलाई राहत सामग्री उपलब्ध गराउन स्थानीय तहहरुसँग मिलेर काम गरिरहेको छ ।

अन्टुफ प्रदेश २ सचिव केदार देवले दिएको जानकारी अनुसार अत्यावश्यक राहत सामग्रीका लागि विभिन्न दातृ निकायहरुले समेत सहयोग गरिरहेका छन् ।

यसैगरी अखिल नेपाल निर्माण मजदुर संघ र सेतीओपी क्लबले भने भोका श्रमिक तथा विपन्नहरुको लागि दालभात तरकारीको व्यवस्था गरेको छ । लकडाउन नखुलेसम्म यो सेवाले निरन्तरता पाउने निर्माण मजदुर संघका बागमती प्रदेश अध्यक्ष मदन बराइलीले जानकारी दिएका छन् ।

बराइलीले निर्माण मजदुर संघ र काठमाडौ महानगरपालिका वडा नम्बर ३२ स्थित सेती ओपी युवा क्लबको संयुक्त पहलमा गरिब निमुखा मजदुरहरुलाई सरकारले तोकेको लगडाउनभर साँझ–बिहान खाना खुवाउने बन्दोबस्त गरिएको बताए ।

यस्तै धादिङस्थित इट्टा भट्टाका श्रमिकको जीविकोपार्जन कष्टकर बनेको बन्दै गइरहेको बताइएको छ । भारतीय श्रमिकहरुको पनि ठूलो हिस्सा रहेको यो क्षेत्रमा कार्यरत श्रमिकलाई स्थानीय सरकारले राहत दिन अस्विकार गरेको जनाइएको छ ।

कतै राहत दोहोरिन थालेको बताइरहँदा यहाँका श्रमिकहरु भोकभोके मर्ने स्थिति बन्ने त होइन भन्ने प्रश्न उठेको निर्माण मजदुर संघले अन्टुफ राहत तथा पिपद व्यवस्थापन कमिटीलाई अवगत गराएको महासंघका उपाध्यक्ष समेत रहेका राहत तथा पिपद व्यवस्थापन कमिटी संयोजक जय कार्कीले बताए । उनले यसमा सम्बन्धित निकायले समाधानका लागि तत्कालै पहल गर्नुपर्ने बताए ।

यस्तै टोखा नगरपालिका वडा नं. ९ ले पनि आफ्नो वडा अन्तरगत रहेका दैनिक ज्यालादारी मजदुर, गरिखाने श्रमिक मजदुर, अति विपन्न वर्गका मजदुरहरुलाई आफ्नो दैनिकी टार्न असहज परिस्थिति नहोस भनेर आफ्नो आन्तरिक श्रोतबाट राहत बाँड्ने कार्य सम्पन्न गरेको छ ।

यस्तै अखिल नेपाल निर्माण मजदुर संघ गण्डकी प्रदेशले पनि राहत वितरण कार्यक्रममा सक्रियतापूर्वक भूमिका खेलेरहेको छ ।

निर्माण मजदुरका केन्द्रीय महासचिव रमेस सि.के.को अगुवाई र वडाको समेत सहकार्य र समन्वयमा राहत वितरण कार्य भइरहेको छ । भने, कास्कीमा हालसम्म ८७ परिवारका २४८ जनालाई राहत बितरण गरिएको महासचिव सि.के.ले जानकारी दिएका छन ।

यसैबीच काठमाडौं जिल्ला तार्केश्वर नगरपालिका वडा नं. ७ मा वडा कार्यलयले अत्यन्तै पक्षपात गरी राहत वितरण गरेको मजदुरहरुले गुनासो गरेका छन् ।

यस पालिकामा दैनिक ज्यालादारी गरिखाने मजदुरलाई राहत नदिएर घर भएका, हुनेखाने र वडाभित्रका मतदाता नामवलीमा नाम भएकाहरुलाई राहत दिइएको सूचना पाएपछि निर्माण मजदुरका उपमहासचिव राजेन्द्र रुम्बा लगायतको टोली स्थलगत रुपमा बुझ्न गएको र राहत लिन छुटेका ४४ जनालाई राहत दिने बताएपछि फर्किएका थिए ।

  •  
  •  
  •  
  •  
  •