तीन जनामा कोराना देखियो, संक्रमित सबै भारतीय नागरिक

१ बैशाख ०७७, काठमाडौं । नेपालमा कोराना भाइरस (कोभिड १९)को थप ३ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोनाका थप ३ जना संक्रमित भेटिएको र ती सबै संक्रमित भारतीय नागरिक रहेको बताएका हुन् ।

वीरगन्ज नारायणी अस्पतालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका एक जना भारतको केन्द्रीय राजधानी दिल्ली र दुईजना उत्तर प्रदेशका नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको नारायणी अस्पतालमा उपचारमा सलंग्न चिकित्सक डा. निरजकुमार सिंहले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले निजहरुको सम्पर्कमा आएका व्यक्ति र स्थान पहिचान गरी शंकास्पद व्यक्तिहरुको खोजतलास तथा अन्य छानबिन भइरहेको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •