कोरोनाविरुद्ध एकजुट भएर लड्न आवश्यक रहेको काँग्रेस सभापतिको भनाई

२ बैशाख ०७७, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेको बताएका छन् ।

नयाँ वर्ष २०७७ का अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै सभापति देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा कोरोना भाइरसको संक्रमणविरुद्ध एकजुट भएर लड्न आवश्यक रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले यतिबेला सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरसबाट आक्रान्त रहेको र एक लाखभन्दा बढी व्यक्तिको मृत्यु साथै लाखौंको संख्यामा संक्रमित रहेकाले यसका विरुद्ध लड्न एकताबद्ध हुनु पर्नेमा जोड दिएका हुन् ।

लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम र एकताका साथ कार्य गर्न गराउन सबैमा आग्रह गर्दै उनले नयाँ वर्ष कोराना भाइरसमाथि विजय पाउन सफल हुने विश्वाससहित शुभकामना व्यक्त गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •