कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपालले चालेको कदमप्रति चीनद्वारा प्रशंसा

२ बैशाख ०७७, काठमाडौं । चीनले कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले चालेको कदमको प्रशंसा गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबिच सोमबार राति भएको टेलिफोन वार्तामा वाङले यस्तो बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले टेलिफोन संवादका क्रममा दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गरिएको पनि बताएको छ ।

टेलिफोन वार्तामा सरकार–सरकार (जीटुटी)बीच औषधि, उपकरण खरिदमा वाङ आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने समेत बताएका र नेपालले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको मनत्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले अपनाएका उपाय तथा त्यसको द्रुत परीक्षणका लागि नेपालभर औषधि र उपकरणको व्यवस्था गर्नुपर्ने भएकाले सरकार–सरकार (जीटुजी) आधारमा औषधि, उपकरण खरिदमा सहयोग र सहजीकरण गरिदिन मन्त्री ज्ञवालीले संवादका क्रममा आग्रह गरेका थिए ।

त्यस्तै चीनको केन्द्रीय सरकार, प्रान्तीय सरकार, सामाजिक संघ संस्थाले नेपाललाई निरन्तर औषधि, उपकरण उपलब्ध गराएकोप्रति मन्त्री ज्ञवालीले प्रशंसा गर्दै नेपालमा रहेका चिनियाँ नागरिकको हित र हेरचाहमा पनि नेपाल सरकारले ध्यान दिने बताएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङले चीनमा कोरोना महामारी फैलिएका बेला नेपाल सरकारले व्यक्त गरेको ऐक्यबद्धता र सहयोगका लागि चीन सरकार र आफ्नो देशका जनताका तर्फबाट धन्यवाद व्यक्त गरिएको पनि मन्त्रालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •