मुम्बईमा लकडाउनलाई बेवास्ता गर्दै हजारौं मानिसहरु भेला

३ बैशाख ०७७, मुम्बई । लकडाउनलाई पूर्ण बेवास्ता गर्दै मंगलबार मुम्बईको बान्द्रा स्टेशनबाहिर हजारौंको संख्यामा मानिसहरु भेला भएको बताइएको छ ।

बीबीसीका अनुसार मुम्बईमा ज्याला मजदुरी गर्दै आइरहेका प्रवासी श्रमिकहरु १४ अप्रिलसम्म जारी गरिएको लकडाउन मंगलबार सकिने र रेल सञ्चालन हुने विश्वासमा आ–आफ्ना घर फर्कन रेल स्टेसनमा जम्मा भएका थिए ।

बान्द्रा स्टेसन अगाडि मानिसहरुको भीड रहेको सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीले उक्त भीड तितरबितर गर्न लाठी चार्ज गर्नु परेको समेत समाचारमा उल्लेख छ ।

यसैबीच कोरोना भाइरसको सबैभन्दा बढी संक्रमित देखिएको महाराष्ट्रका मुख्यमन्त्री उद्धब ठाकरेले कोरोना भाइरस लगायत नागरिकको दैनिकीमा देखापरेका समस्याहरु हल गर्न सरकारले हरसम्भव कोशिस गरिरहेकाले नआत्तिन आग्रह गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान आगामी मई ३ सम्म लगडाउनलाई निरन्तरता दिने घोषणा गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •