लकडाउनमा पनि श्रमिकहरु काममा, सेवा, सुविधा चाहिँ जाममा !

३ बैशाख ०७७, सुनसरी । सरकारले लकडाउनकै बीच अत्यावश्यक उद्योगहरु सञ्चालन गर्ने र त्यस्ता उद्योगहरुमा कार्यरत मजदुर, कर्मचारीहरुलाई रोजगारदाताले आधारभूत स्वास्थ्य सुरक्षाको प्रत्याभूत गरिने बताइए पनि त्यस्तो नभएको पाइएको छ ।

सुनसरीको इस्टर्न सुगर मिल्स् लिमिटेडले लकडाउनमा पनि उद्योग सञ्चालन गरिरहेको तर कार्यरत श्रमिकहरुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध नगराएको मजदुरहरुले गुनासो गरेका छन् ।

इस्टर्न सुगर मिल्समा कार्यरत फिल्ड जेटीए सन्जिव कुमारले सरकारले घोषणा गरेका कुनै पनि सुविधा उद्योगले उपलब्ध नगराएको भन्दै लकडाउन अवधिमा श्रममा खटिने सबै मजदुरहरुलाई स्वास्थ्य सुरक्षाको ग्यारेन्टी, बिमा साथै अतिरिक्त भत्ता लगायतका सुविधा गरिनु पर्ने बताएका छन् ।

उनले इस्टर्न सुगर मिल्समा कार्यरत श्रमिकहरुले असुरक्षित श्रम गरिरहेको भन्दै सम्बन्धित निकायले अनुगमन र निगरानी गर्नुपर्ने बताए ।

यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का अध्यक्ष टीकाराम प्रसाईंले सुनसरी, इलाम, तेह्रथुम, पाँचथर लगायतका केही जिल्लामा श्रमिकहरुलाई काममा लगाइए पनि उनीहरुको आधारभूत आवश्यकता सरकार र रोजगारदाताले पूरा नगरेको बताए ।

अध्यक्ष प्रसाईंले मजदुरहरुलाई काममा लगाउने रोजगारदाताहरुले श्रमिकलाई स्वास्थ्य सुरक्षा, बिमा र अतिरिक्त सुविधा दिनुपर्ने साथै स्थानीय तह र वडाका जनप्रतिधिहरुले विभेद नगरी लकडाउनमा बेरोजगार बनेका मजदुरहरुको चुल्हो नबल्ने समस्याको तत्काल हल गर्नुपर्ने बताए ।

यद्यपि, प्रदेश नम्बर १ मा कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएमा प्रदेश १ सरकारले परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षको अवसरमा आइतबार प्रदेशवासीलाई भिडियो सम्बोधन गर्ने क्रममा कोरोना संक्रमणबाट मृत्यु भए ५० लाख रुपैयाँ दिने घोषणा गर्दै राहत वितरणका लागि प्रदेशका १ सय ३७ स्थानीय तहलाई साढे ९ करोड रुपैयाँ निकासा गरेको पनि जानकारी गराएका थिए ।

अन्टुफ प्रदेश १ अध्यक्ष प्रसाईंले मृत्युपछि सुविधा होइन्, मृत्यु अघि जनताको सुरक्षा गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै ज्यालादारी मजदुरहरु र विपन्न परिवारसम्म सरकारी राहत पुग्न नसक्नुमा स्थानीय जनप्रतिनिधिहरुको विभेदपूर्ण व्यवहार रहेको भन्दै कटाक्ष समेत गरे ।

 

  •  
  •  
  •  
  •  
  •