श्रमिकको उचित ब्यवस्था गर्न सरकारसँग ठूला ट्रेड युनियनहरुको माग

४ बैशाख ०७७, काठमाडौं । बागमती प्रदेशमा क्रियाशील ठूला ट्रेड युनियनहरुले आम नागरिकलाई कोरोना भाईरसबाट संक्रमित हुनबाट बचाउन, उद्दार गर्न साथै बैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई कुटनीतिक पहल गरी उचित ब्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को कारण देश विदेशमा रहेका श्रमिकलाई परेका समस्या हल गर्न सरकार गम्भीर हुन उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ बागमती प्रदेश, एनटीयुसी, जिफन्ट र जेटीयुसीसीका बागमती ईकाईले लकडाउनका कारण समस्यामा परेका सम्पूर्ण श्रमिकहरुलाई तत्काल राहत प्रदान गर्न सरकारसँग माग गर्दै दैनिक ज्यालादारी तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक र तिनका परिवारहरुको उचित व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

ट्रेड युनियनहरुले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारले स्थाीनय तहमार्फत् वितरण गरेको राहत कार्यक्रम लक्षित वर्गमा पुग्न नसकेको उल्लेख गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ बागमती प्रदेश अध्यक्ष पिताम्बर गिरी, जिफण्टका अध्यक्ष रामहरि नेपाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र एंव नेपाल ट्रेड युनियन काँग्रेस बागमतीका अध्यक्ष घनश्याम चापागाईंले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु, समाचार रिर्पोटिङ्गमा रहेका पत्रकार, अत्यावश्यक सेवा तथा उद्योगहरुमा कार्यरत श्रमिकहरुलाई व्यक्तिगत सुरक्षाका सामग्रीको व्यवस्था साथै जिवन विमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरी सञ्चालित उद्योगहरुमा मजदुर तथा श्रमिकमाथि कुनै पनि समस्या सृजना भए रोजगारदाता र सरकार जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •