इट्टाभट्टाका मजदुरलाई ट्रेड युनियनका इन्चार्जद्वारा राहत वितरण

सोम तामाङ/७ बैशाख ०७७, काठमाडौं । सत्तारुढ दल निकट ट्रेड युनियनको फ्र्याक्सन इन्चार्ज जयपुरी घर्तीले इट्टाभट्टामा काम गर्ने श्रमिकलाई राहत वितरण गरेकी छन् ।

संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिकी सभापति समेत रहेकी इन्चार्ज घर्तीले आइतबार ललितपुरको हरिसिद्धीस्थित दक्षिणकाली भट्टामा काम गर्ने ७८ जना मजदुरलाई राहत वितरण गरेकी हुन् ।

लकडाउन सुरुभएसँगै भट्टा सञ्चालक फोन अफ गरेर बेखबर भएको र दक्षिणकाली भट्टामा काम गर्ने मजदुरहरु अप्ठ्यारो परेका जानकारी पाएपछि इन्चार्ज घर्तीले त्यहाँ काम गर्ने मजदुरहरुलाई १५ बोरा चामल, १ बोरा नुन, २ कार्टुन तेल र ४० किलो दाल राहत स्वरुप वितरण गरेकी छन् ।

सरकारले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन आदेश जारीगरेपछि भट्टा मजदुरहरु समस्या परेको गुनासोहरु बढेपछि इन्चार्ज घर्ती ललितपुर र भक्तपुरका विभिन्न भट्टाहरुमा पुगेकी छन् ।

इन्चार्ज घर्तीले आजै ललितपुरको बुङमतीस्थित नेवाः इट्टा भट्टा र भक्तपुरको मञ्जुश्री इट्टा भट्टामा पगेर मजदुरहरुका अवस्था बुझेकी छन् ।

उनले ललितपुरको नेवाः भट्टामा काम गर्ने मजदुरहरुलाई वडाका जनप्रतिनिधिहरुले राम्रो व्यवस्था गरेको पाएकी पनि बताइन् ।

यस्तै भक्तपुरको मञ्जुश्री भट्टामा काम गर्नेहरुलाई भट्टा मालिकले नै राम्रो व्यवस्था गरेको पाइएको भन्दै उनले वडामा पनि राहतका लागि नामावली बुझाइएको अवस्था पाएको बताइन् ।

इन्चार्ज घर्तीले दोलखाको मेलुङ गा.पा. ४ का १८ जना मजदुरहरुलाई पनि आफूले सहयोग गरेको बताइन् ।

केही स्थानमा जनप्रतिनिधिहरुले मजदुरका लागि खान बस्नको राम्रो व्यवस्था गरेको पाइएको उनले बताइन् ।

यस्तै ललितपुरको धापाखेलमा निर्माण क्षेत्रमा काम गर्ने दश जना रोल्पाली मजदुरलाई पनि चामल र दाल किनेर राहत दिएको जानकारी दिइन् ।

संघीय सांसद समेत रहेकी घर्तीले आफूले भेटेका अधिकांश श्रमिकहरुले कोरोना संकटका बेला काम पनि नहुने खान बस्न पनि समस्या हुने भएकाले आफूलाई घर जाने बातावरण बनाइदिन आग्रह गरेको मजदुरहरुको गुनासो समेत सुनाइन् ।

इन्चार्ज घर्तीले विभिन्न स्थानमा दुख गरी बसेका मजदुरहरुले आफ्नै थातथलो जान इच्छा ब्यक्त गरेको भन्दै सरकारलाई सहजीकरण गरेर घर फर्काउन व्यवस्थापन गर्नु पर्ने सुझाइन् ।

“म जहाँ जहाँ पुगेँ, ती सबै स्थानमा कार्यरत महजदुरहरु सबैले घर जान चाहेका छन्,” इन्चार्ज घर्तीले भनिन्, “मजदुरको समस्या देखेर निकै पीडा भयो, मैले नआत्तिनुस अवस्था सहज भएपछि घर जाने व्यवस्था गर्छु भनेकी छु ।”

यस्तै मजदुर इन्चार्ज घर्तीले मजदुरहरुलाई खानाको अभाव र बस्न समस्या भए आफूलाई फोन गर्न भनेको पनि बताइन् ।

यस्तै धादिङमा पनि एक सयभन्दा बढी जना मजदुर अलपत्र परेको सूचना पाएकाले भोलि बिहान उनीहरुको अवस्था बुझ्न जाने पनि उनले बताइन् ।

  •  
  •  
  •  
  •  
  •