डोल्पाको ठूलो भेरीमा राहात बितरण नहुँदा खाद्य संकट देखियो

८ बैशाख ०७७, डोल्पा । डोल्पाको ठूली भेरी नगरपालिका राहात बितरण नहुँदा असंगठित क्षेत्रका मजदुरहरुमा खाद्य संकट पैदा भएको छ ।

नागरिकता वा मतदाता परिचय पत्र नभएका बाहिर जिल्ला मजदुरहरुलाई राहात बितरण गर्न नसकिने भनेर स्थानीय जनप्रतिनिधिहरु पन्छिएपछि वास्तविक मजदुरहरुमा खाद्य संकट पैदा भएको हो ।

अखिल नेपाल ट्रेड युनियन महासंघ डोल्पा जिल्ला अध्यक्ष प्रेमलाल जैसीले संघीय सरकारबाट लकडाउनको समयावधिमा ज्यालादारी मजदुर र विपन्न परिवारलाई लक्षित गरी राहत वितरण गर्ने भनिए पनि जनप्रतिनिधिहरु मतदाता केन्द्रीत राहत वितरणमा लाग्दा वास्तविक मजदुरहरुलाई खाद्य संकट परेको बताए ।

“मजदुरहरुलाई राहात वितरणका लागि नेपाली नागरिकता वा मतदाता परिचय पत्र जरुरी पर्ने र यदि त्यस्तो प्रमाण नभए बाहिर जिल्लाका मान्छेलाई राहात बितरण गर्न नसकिने स्थानीय जनप्रतिनिधिहरु जिम्मेवारिबाट पन्छिरहेका छन्” अध्यक्ष जैसीले भने ।

उनले राहात बितरणको प्याकेजसहित स्थानीय तहलाई कार्यान्वयन गर्न, गराउन नियमानुसार माग गर्दा पनि डोल्पाको ठूलो भेरि नगरपालिका हालसम्म कुनै पनि किसिमको राहात बितरण सम्बन्धी कार्यहरु नभएको पनि जानकारी दिए ।

उक्त नगरपालिकाभित्र छिमेकी जिल्ला रुकुम पश्चिम, जाजरकोट लगायतका मजदुरहरु रहेको अध्यक्ष जैसीले बताए ।

कोरोना भाइरसले महामारीकारुप लिएपछि नेपालमा पनि सरकारले लकडाउन घोषणा गरेसँगै यतिबेला विभिन्न क्षेत्रमा कामका सिलसिलमा पुगेका मजदुरहरुमा गाँस र वासको समस्या देखिएको छ ।

  •  
  •  
  •  
  •  
  •