विषम परिस्थिति देखाएर श्रमिकको रोजीरोटी नखोस्न होटल मजदुर संघको चेतावनी

६ बैशाख ०७७, काठमाडौं । अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टूँरा मजदुर संघले विषम परिस्थितिलाई देखाएर होटल क्षेत्रमा कार्यरत श्रमिकहरुको रोजीरोटी नखोस्न रोजगारदाताहरुलाई चेतावनी दिएको छ ।

शनिबार संघका अध्यक्ष माधव पाण्डेले जारी गरेको ध्यानाकर्षण पत्रमा होटल संघ र पर्यटन क्षेत्रमा क्रियाशील तीन ठूला ट्रेड युनियनहरुले शुक्रबार गरेको प्रस्ताव खारेज गरिएको भन्दै होटल क्षेत्रमा कार्यरत श्रमिकहरुलाई शतप्रतिशत तलब दिन आग्रह गरेका हुन् ।

“विषम परिस्थितिलाई देखाएर होटल क्षेत्रमा कार्यरत श्रमिकहरुको रोजीरोटी खोस्ने कोशिस नगरियोस्,” ध्यानाकर्षण पत्रमा भनिएको छ, “२०७०÷१÷५ गते होटल संघ र पर्यटन क्षेत्रमा क्रियाशील तीन वटै ट्रेड युनियनहरुको संयुक्त छलफलमा होटल संघको तर्फबाट राखिएको श्रीमकको तलब १२.५ प्रतिशत व्यवसायीले दिने र १२.५ प्रतिशत नेपाल सरकारले थप गर्न पर्ने प्रस्ताव हाम्रो संगठन खारेज गर्दछ ।”

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण होटल संघ नेपालले मजदुरको तलबमान कटौती गर्ने प्रस्तावसहित पर्यटन क्षेत्रमा क्रियाशील तीन ठूला ट्रेड युनियनहरुसँग छलफल गरेको थियो ।

विज्ञप्तिसहित :

  •  
  •  
  •  
  •  
  •