कोरोना संक्रमणविरूद्ध एकढिक्का भई अघि बढ्नु पर्नेमा नेकपा सचिवालयको जोड

९ बैशाख ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकले कोरोना संक्रमणविरूद्ध जारी लडाईंमा एकढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”को संयुक्त अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा मन्त्रिपरिषदले आजै निर्णय गरेर अघि बढाएका दुई अध्यादेशहरूको बारेमा छलफल चलिरहेकै बेला राष्ट्रपतिज्यूबाट अध्यादेश जारी भएको सूचना प्राप्त भएको बताए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अध्यादेशहरू जारी गर्न गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष ओलीले अध्यादेशको औचित्यबारे जानकारी गराएसँगै बैठकमा सचिवालय सदस्यहरूले विधि, प्रक्रिया र समय सन्दर्भलगायत विषयमा आआफ्नो धारणा राखेको पनि उनले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •