गुणस्तरहीन दाल राहत बाँडेको आरोपमा कलैया उपमहानगर प्रमुख पक्राउ

९ बैशाख ०७७, बारा । प्रहरीले साढे तीन वर्ष पुरानो दाल बेचेको भेटिएपछि कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीले राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई करिब साढे तीन वर्ष पुरानो दाल बेचेको पाइएपछि नगरप्रमुख यादवलाई पक्राउ गरिएको जानकारी दिए ।

यसअघि नै पक्राउ परेका ५ जना वडा अध्यक्ष, एक जना सचिव र दाल मिलका सञ्चालकसहित अन्य गरी आठ जनाले दिएको बयानका आधारमा नगर प्रमुख यादव दोषी देखिएको हुँदा पक्राउ गरिएको प्रहरी उपरीक्षक पगेनीले बताए ।

पक्राउ पर्नेहरूमा कलैया उमनपा–१ का वडाध्यक्ष हरिओम साह सोनार, वडा नं. ७ का अध्यक्ष सरफुल्लाह अन्सारी, वडा नं. ११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नं. १३ का अध्यक्ष राजन प्रसाद पटेल र वडा नम्बर २६ का अध्यक्ष महेश साह रहेका छन् ।

यसैगरी यसै प्रकरणमा प्रहरीले कलैया उमनपा वडा नं. २० का सचिव खेदु मियाँ, सोही ठाउँ वडा नं. ७ स्थित रहेका यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगंजस्थित रहेका धन लक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मालाई नियन्त्रणमा लिएको हो ।

स्थानीय प्रहरी प्रशासनले यादव आइस एण्ड कोल्ड स्टोरमा खान योग्य नरहेको ३८० बोरामा रहेको ३२ हजार किलो परिणामको रहर दाल यसअधि नै सिल गरेको थियो ।

बारा प्रहरीले दालको नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा पठाएकोमा रिर्पोट गुणस्तरहीन आएको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •