रोगभन्दा भोकले मर्ने अवस्था बढेपछि मजदुरहरूलाई घर फर्कने व्यवस्था गरेको हुँ – सांसद सिम्खडा

बागमती प्रदेश सांसद जगत सिम्खडा गन्तव्यतर्फ जान बस चढेका यात्रुहरुलाई मास्क वितरण गर्दै

११ बैशाख ०७७, धादिङ । बागमती प्रदेश सांसद जगत सिम्खडाले संघीय राजधानी काठमाडौंमा लकडाउनका कारण अलपत्र परेका धादिङवासीलाई घर फर्काएका छन् ।

सांसद सिम्खडाले बुधबार जिल्लाबाटै सवारी पासको व्यवस्था गरेर काठमाडौं आई उपत्यका विभिन्न क्षेत्रमा काम गरिरहेका तर लकडाउनका कारण अलपत्र परेका त्रिपुरासुन्दरी गाउँपालिका लगायतका जिल्लावासीलाई नै गाउँ फर्काएका हुन् ।

पूर्वनेकपा (माओवादी केन्द्र) धादिङ क्षेत्र नं. २, प्रदेशसभा (ख) बाट बिजयी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बागमती प्रदेश सांसद सिम्खडाले (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनबाट दैनिकी नै कष्टकर बनेका ६ सयभन्दा बढी ज्यालादारी मजदुरदेखि सर्वसाधारणहरूलाई १४ वटा बसको व्यवस्था गरेर जिल्ला फर्काएका हुन् ।

गंगबुस्थित नयाँ बसपार्क नजिकै सडकमा लकडाउनका कारण गन्तव्यतर्फ जान हतारिएका मजदुरहरू

“विश्वभर महामारीकारुपमा फैलिएका कोरोना भाइरस (कोभड–१९) रोगले भन्दा पनि भोकले मर्नुपर्ने स्थिति बन्दै गएपछि मजदुर, विद्यार्थी र जिल्लावासीलाई घर फर्किने व्यवस्था गरेको हुँ” हाकाहाकीसँगको संक्षिप्त कुराकानीका क्रममा सांसद सिम्खडाले भने ।

मजदुरहरुले काठमाडौंमा भोकभोकै क्वारेन्टाइन बसेर मर्नुभन्दा गाउँमै खोले र गुन्द्रुक खाएर क्वारेन्टाइन बस्नु उचित हुने बताएपछि भोकको सम्भावित महामारी रोक्न उनीहरुलाई गाउँ फर्कन आफूले सहयोग गरेको उनले बताए ।

नेपालमा कोरोना संक्रमण देखिएसँगै सरकारले स्थापना गरेको कोभिड–१९ कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोाषणा समेत गरेका सांसद सिम्खडाले कैयन मजदुरहरू ससाना नानीहरुसँग भारी बोकेर गन्तव्यतर्फ हिँडिरहेको दृष्यले आफूलाई अत्यन्तै पीडाबोध भएको भन्दै जिल्लावासीलाई गन्तव्य फर्कउन अग्रसरता लिएको बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का केन्द्रीय अध्यक्ष समेत रहेका सांसद सिम्खडाले जिल्लावासीलाई गन्तव्य फर्काउने व्यवस्था गरेपछि केही स्थानीयका विरोधको स्वर सुनिएता पनि त्रिपुरासुन्दरी गाउँपालिकाले भने विभिन्न वडामा बसोबास गर्ने नागरिकहरुलाई आफ्नो घर फर्काउनलाई आवश्यक सहयोग गरिदिन पत्रमार्फत् आग्रह नै गरेको थियो ।

त्रिपुरासुन्दरी गाउँपालिकाले आवश्यक सहयोगका लागि प्रदेशसभा सदस्य जगत सिम्खडालाई लेखेको पत्र

जिल्ला प्रशासन धादिङको समन्वयमा उद्दारका लागि काठमाडौं नयाँ बसपार्कमै पुगेका सांसद सिम्खडाले घर फर्कने यात्रुहरुलाई निःशुल्क मास्क पनि वितरण गरेका थिए ।

केही दिनअघि मात्रै उर्जामन्त्री वर्षमान पुनले काठमाडौंबाट रोल्पाका सयौं जनतालाई उद्दार गरी गृह जिल्ला पठाएका थिए । भने, तनहुँका सांसद किसान श्रेष्ठले पनि विभिन्न स्थानमा अलपत्र परेका मजदुरहरुलाई गन्तव्यतर्फ पठाएका थिए ।

  •  
  •  
  •  
  •  
  •