राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश खारेज

१२ बैशाख ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार दुई अध्यादेश खारेज गरेकी छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी सरकारले ल्याएको दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

सोही अनुसार मन्त्रिपरिषदले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी भित्र-बाहिर चर्को आलोचना भएपछि हप्तादिन नबित्दै सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

सरकारको सिफरिसमा सोमबार मात्रै राष्ट्रपतिले दुई अध्यादेश जारी गरेकी थिइन् । जसमध्ये एउटा अध्यादेशमा दल विभाजनलाई खुकुलो बनाउने र अर्कोमा प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सकिने व्यवस्था गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •