दुई भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि कोठियाघाट क्षेत्र सिल

१३ बैशाख ०७७, बर्दिया । जिल्लाको ठाकुरबाबा नगरपालिका २ को सुजनपुर र खुलपुर गाउँलाई पूर्णरुपले सिल गरिएको छ ।

कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुर भारत फर्किए लगत्तै उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कोठियाघाट क्षेत्रलाई सिल गरेर सतर्कता बढाइएको हो ।

यही बैशाख ५ गते घर फर्किएका भारतको बहराईच जिल्ला नानपारा निवासी दुईजना मजदुरलाई परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको भारतीय प्रहरीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बहराईचस्थित भारतीय प्रहरी कार्यालयले बर्दिया जिल्ला प्रहरीलाई एक पत्र लेखेर नेपालबाट भारत फर्किएका दुई जना भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको बताए ।

प्रमुख गिरीले कोठियाघाट क्रसरमा भारतीय नागरिकसँगै काम गर्दै आएका मजदुरहरुको स्वाब संकलन गरी परीक्षण गर्ने तयारी भइरहेको बताए ।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ भारतको बहराइचमा दुई दिन अघिमात्रै ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि सीमामा कडाई गरिएको बताए ।

  •  
  •  
  •  
  •  
  •