होटल संघले श्रममन्त्रीलाई बुझायो, श्रमिकलाई तलब दिन नसक्ने पत्र !

काठमाडौं । होटल संघ नेपालले श्रमिक तथा कर्मचारीहरुलाई खाइपाई आएको तलब, भत्ता र सुविधा दिन नसक्ने जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनले व्यवसाय संकटमा परेको भन्दै संघले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई पत्राचार गरेर यस्तो बताएको हो ।

संघकी अध्यक्ष सृजना राणाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “यो महामारीपछि नेपालमा एक वर्षसम्म पर्यटकको आवागमन हुँदैन । त्यसकारण होटल संघ नेपालले सम्पूर्ण सदस्यहरुको भावना बमोजिम महामारीको अन्त्यपछिको एक वर्षसम्म श्रमिकहरुलाई आवश्यक तलब भत्ता तथा अन्य सुविधा उपलब्ध गराउन नसक्ने भन्ने रहेको छ ।”

यस्तै संघले ६ महिनासम्म सदस्य होटलहरुलाई आधारभूत तलबमा १२.५ प्रतिशतको दरले तलब व्यवस्था गर्न अनुरोध गर्ने र थप आवश्यकता राज्यले व्यवस्था गर्ने गरी नीति निर्माण गर्न श्रममन्त्रीलाई आग्रह गरेको छ ।

संघले व्यवसायमा ६ महिनासम्म पनि सुधार नआए कुनै प्रकारको सुविधा दिन नसक्ने जनाएको छ ।

अ.ने.हो.क्या. तथा रे.म.संघ, ने.स्व.हो.म.संघ र ने.प. तथा हो.स.श्र.संघलाई बोधार्थ दिई होटल संघले श्रममन्त्रीलाई पत्राचार गरेको पत्रमा लेखिएको छ, “होटल व्यवसायमा ६ महिना पछिसम्म पनि सुधार हुन नसक्ने भएमा कार्यरत श्रमिक तथा कर्मचारीहरुलाई कुनै प्रकारको सुविधा दिन नसकिने र होटलमा व्यवसायको सहजीकरण नभएसम्म श्रमिक तथा कर्मचारीहरुलाई बेतलबी राख्न सक्ने प्रावधान लागू गरियोस् ।”

उद्योग सम्बन्धमा विशेष व्यवस्था गर्न आग्रह गर्दै संघले पत्रमार्फत् श्रममन्त्रीलाई पर्यटन व्यवसायको पूर्ण सुधार नहुँदासम्म न्यूनतम तलब भत्ता बृद्धि गर्ने निर्णय नगर्न समेत अनुरोध गरेको छ ।

हाेटल मजदुर संघ भन्छ, शतप्रतिशत तलब दिनुपर्छ

यसैबीच अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)सम्बद्ध अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टूँरा मजदुर संघले काेराेेेना संकटलाई देखाएर होटल क्षेत्रमा कार्यरत श्रमिकहरुको तलब, भत्ता र सेवा सुुुविधा कटौती नगर्न राेजगारदाताहरुलाई चेतावनी दिएको छ ।

संघका अध्यक्ष माधव पाण्डेले गत शनिबार जारी गरेको ध्यानाकर्षण पत्रमा होटल संघ र पर्यटन क्षेत्रमा क्रियाशील तीन ठूला ट्रेड युनियनहरुले शुक्रबार गरेको प्रस्ताव खारेज गरिएको भन्दै होटल क्षेत्रमा कार्यरत श्रमिकहरुलाई शतप्रतिशत तलब दिनुपर्ने बताएका छन् ।

“विषम परिस्थितिलाई देखाएर होटल क्षेत्रमा कार्यरत श्रमिकहरुको रोजीरोटी खोस्ने कोशिस नगरियोस्” अध्यक्ष पाण्डेले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, “होटल संघ र पर्यटन क्षेत्रमा क्रियाशील तीनवटै ट्रेड युनियनहरुको संयुक्त छलफलमा होटल संघको तर्फबाट राखिएको श्रीमकको तलब १२.५ प्रतिशत व्यवसायीले दिने र १२.५ प्रतिशत नेपाल सरकारले थप गर्न पर्ने प्रस्ताव हाम्रो संगठन खारेज गर्दछ ।”

  •  
  •  
  •  
  •  
  •