ऐतिहासिक नाटक मई दिवस : एक समीक्षा

जय कार्की/ “मई दिवस” यो विश्व चर्चित मजदुर आन्दोलनमा आधारित नाटक हेर्ने मौका एआईयुटियुसीको बेंगलोरमा (जनवरी २०१३ को ४–६ सम्म) आयोजित २०औं राष्ट्रिय महाधिवेशनले जुराएको थियो । यो ट्रेड युनियन महासंघ भारतीय ट्रेड युनियनहरुमध्ये अलि फरक छ । क्रान्तिकारी धाराको रक्षा र विकासमा अघि बढिरहेको छ । यो सुसी समाजवादी पार्टी (कम्युनिष्ट) को भातृ संगठन हो ।

यो बखत सो महासंघका अध्यक्ष कृष्ण चक्रवर्ती र महासचिव शंकर साहलाई सम्झन चाहन्छु । उहाँको उमेर त्यो बेला ७५ बर्षभन्दा माथिको थियो । तर उहाँहरुको क्रियाशीलता र देशव्यापी संगठनको विस्तारलाई हेर्दा लाग्दथ्यो; उहाँहरुमा अझैपनि युवा जोश र जाँगरको कुनै कमी थिएन । लाखौं लाख युवा नेता तथा कार्यकर्ताहरुको नेतृत्व गरिरहनु भएको थियो । मैले उहाँहरुको कार्यक्रमलाई अध्ययन गर्दा सबैभन्दा अग्रगामी र मजदुर पक्षीय अधिकार रक्षा र विकासका लागि महत्वपूर्ण दस्तावेज ठहरेको थिएँ । किनकि, त्यहाँ भारतको राष्ट्रियस्तरका सबै महासंघको उपस्थिति रहेको थियो र सबैले विशेष गोष्ठीमा विचार प्रस्तुत गरेका थिए । त्यसरी नै श्रीलंका, ग्रीस, प्यालेस्टाइन प्रतिनिधिहरु पनि महाधिवशनमा आमन्त्रित हुनुहुन्थ्यो ।

नाटकमा भाग लिएका सबै कलाकारहरु सुसी पार्टीका साँस्कृतिक मोर्चाका हुनुहन्थ्यो । यो साँस्कृतिक मोर्चाको जिम्मेवारी पनि सबैभन्दा अब्बल दर्जाको प्रगतिवादी साहित्यकारहरुको नेतृत्वमा स्थापना गरिएको रहेछ । यसको नेतृत्व मलाई लाग्दछ, प्रोफेसर डा. जयन्ती वा जयन्थीले गर्नुभएको थियो । उहाँको जिम्मेवारी महिला मोर्चाको पनि थियो ।

मई दिवसमा आधारित यो नाटकको केन्द्र बिन्दु सन सिकागो शहरमा कार्यरत मजदुरहरुको दुरुवास्था र त्यसको वरिपरि घुमिरहन्छ र विस्तारै अमेरिकाभरि फैलिन्छ । आन्दोलनको मूलपात्र मई दिवसका शहीदहरु आफैँ हाम्रो सामु उभिएका हुन्छन् । छलफल गर्छन, आन्दोलन गर्ने तरिकामा उनीहरुको ठूलो बहस हुन्छ, होहल्ला हुन्छ । लौ, अब आन्दोलन कता जाने हो भनि झसङ्ग पार्छन तर उनीहरुको मूल उद्देश्यमा कुनै अन्तर आउँदैन अझ जुझारु योजना बनाउँन सफल हुन्छन् ।

यो आन्दोलन श्रमिकको कार्यघण्टा, कार्य थलो सुधार र ज्याला सम्बन्धी मात्र केन्द्रित थिएन यो त काला र गोराबीचको जातिवादी विभेद, दास प्रथा, शोषण, दमन, असामनता तथा छुवाछुत लगायतविरुद्ध एकीकृत आन्दोलन थियो ।

दमन र निष्काशनकै बीचमा उनीहरुको आन्दोलन अघि बढिरहन्छ । एउटा साथीको अनुपस्थितिमा अर्को साथीले आन्दोलनको नेतृत्व गरिहाल्छ । आठ घण्टाको काम, आठ घण्टाको आराम आठ घण्टा आरामको आन्दोलनले चर्कोरुप लिन्छ । भयङ्कर दमन हुन्छ । थुप्रै आन्दोलनकारी मजदुरहरु मारिन्छन । मजदुर नेताहरु गिरफ्तारमा पर्छन । अदालतले राजनैतिक दल र उद्योगपतिको दबाबमा फाँसीको सजाय तोक्छ ।

अन्यायपूूर्ण एवं पक्षपाति ढंगले न्यायमूर्तिका तुलो ढल्काएर तोकेको फाँसीको सजाय समेत भोग्छन । तर उनीहरुले बालेको मजदुर आन्दोलनको आगोे एटलान्टिक महासागरलाई पार गर्दै युरोपभरि फैलिन्छ । र, अन्तत सबै महादेशमा फैलिन्छ ।

सिकागोको मई दिवसको इतिहास अध्ययन गर्दा महिला श्रमिकहरुको भूमिका खासै देखिदैन । कतिपय घटनाक्रममा महिला सहभागिता बिना आन्दोलन बढिरहेको देखिन्छ । संक्षेपमा लेखिएका इतिहासमा उनीहरुको भूमिका नसमेटिएको हो भन्ने मलाई लागेको छ । या त अनुवादका क्रम प्रमुख पात्र वा शहीदहरुलाई मात्र अगाडि ल्याइयो अरुको इतिहास हराउँदै गयो भन्ने लाग्यो । मलाई यो नाटक हेरेपछि त्यस्तो लाग्यो । किनकि, नाटकमा थुुप्रै महिला पात्रहरुको भूमिका उत्तिकै सशक्त रहेको छ, मई दिवसको आन्दोलनमा ।

श्रीमानलाई फाँसीको सजाय दिएपछि वा प्रहरीले हिरासतमा लिएपछि सबैभन्दा विजोग उनीहरुको जीवन संगिनी र लालाबालाहरुको भएको छ । युवा नेताहरुको पे्रमिकाहरु पनि थिए, बहिनीहरु थिए, महिला सहकर्मीहरु पनि प्रशस्त थिए । आन्दोलनमा उनीहरुको भूमिका यो नाटकमा महत्वपूर्णरुपमा प्रस्तुत गरिएको छ । आठ जना मजदुर नेतृत्वको साथमा लाखौं लाख संगठित मजदुरहरु नै उनीहरुको ताकत थियो भनी प्रष्ट पारिएको छ ।

मई दिवसको आन्दोलनभरि नै महिला पात्रहरु पुरुष पात्रहरुभन्दा कतै कम छैनन् । पुरुष नेताहरु भूमिगत भएको अवस्थामा होस् वा गिरफ्तार भएको बेलामा आन्दोलनको कमाण्ड उनीहरुले नै सम्भालेका छन् ।

त्यतिमात्र होइन्, शहीदका जीवन संगिनीहरु फाँसीको विरुद्धमा निरन्तर मुद्दा लडेका छन् र मुद्दा जितेर छाडेका छन् । इतिहासमा त्यो पक्ष हामीले अध्ययन गरेको पुस्तकहरुमा गायब छ । तर, महसुर तथा सुप्रशिद्ध अमेरिकी लेखक हार्वड फास्टले सिकागोका मजदुर शहीद नामक कृतिमा भने महिला नेतृ तथा अल्बर्ट पार्सनको जीवन संगिनीको संघर्षशील जीवन बारे खुलेर प्रकाश पार्नु भएको छ ।

फाँसी दिएका मजदुर शहीदहरुको पक्षमा फैसला गराउन सिकागोको मजदुर आन्दोलन सफल भएको थियो । कुनै अधिकारवादी वा कुनै दयालु गभर्नरले होइन् कि मजदुर आन्दोलनले न्याय दिलाएको थियो ।

मजदुरको फाँसीका बारेमा गभर्नर अल्टगेल्टले माफी मागेको इतिहास साक्षी छ । तर, माफी माग्नुपर्ने अवस्थामा त मजदुर आन्दोलनले नै पु¥याएको हो भनी प्रष्ट पार्न इतिहासले कन्जुस्याई गरिएको छ । सत्तामा कहिलेकहीँ निकै असल मान्छे पनि पुग्छन, त्यो बेलमा मजदुर न्याय पाउँछन् । मजदुरका विरुद्धमा गरेको फैसलालाई पनि उल्टाई दिन्छन भन्ने झल्को दिएर लेखिएको इतिहासलाई नाटकले गलत साबित गर्दै जे जति मजदुरको पक्षमा नजिता आएको छ त्यो सबै अन्दोलनको बलमा भएको छ र मजदुरको पक्षमा फैसला गर्न लगाउने काम पनि आन्दोलनले गरेको हो भनी मई दिवसको सो ऐतिहासिक नाटकले प्रष्ट पारेको छ ।

नाटकका पात्रहरुको सम्बाद र अभिनय शसक्त भएकाले नै सहजरुपमा बुझन सक्ने कुरा आफनो ठाउँमा छँदैछ; त्यसमा पनि विश्वभरिको सर्वश्रेष्ठ कथालाई आधार बनाएकाले सबै दर्शकहरुले बुझेर नै हुनुपर्छ तालीको गडगडाहटका कारण सम्वाद सुन्न बेलाबेलामा सहज थिएन ।

नाटक सकिने बेलासम्ममा कलाकारहरु सिकागोका मजदुर शहीद योद्धाको रुपमा सम्मानका हकदार भइसकेका थिए । नाटकमा प्रयोग गरिएको संगीत र गीतले आन्दोलनमा जोश भर्ने र विचार भर्ने मनग्गे काम गरेको थियो । तर नाटक हिन्दी भाषामा नभएर अंग्रेजी भाषामा नै प्रस्तुत गरेको होला भन्ने मलाई लागिरह्यो । मैले नाटक सकिएपछि महासचिव शंकर साहलाई सोधे किन अंग्रेजीमा नै ? उनले भने सबै प्रान्तबाट आएका छन, सबैले हिन्दी बुझदैनन, अनि विदेशी प्रतिनिधिहरु पनि थुप्रै हुनुहुन्छ ।

जोरपाटी काठमाडौं
१७ बैशाख ०७७

  •  
  •  
  •  
  •  
  •