मजदुरको नाममा मतदातालाई राहत वितरण गर्दै बाँके उपमहानगर !

१७ बैशाख ०७७, बाँके । अखिल नेपाल ट्रेड युनियन महासंघका बाँके जिल्ला अध्यक्ष बसन्त मल्लले स्थानीय तहबाट वितरित राहत वास्तविक श्रमजीवीवर्गले नपाएको बताएका छन् ।

अध्यक्ष मल्लले बाँके उपमहानगर प्रमुखको अडानका कारण साँझबिहान हातमुख जोर्न कठिन भएका लक्षित वर्गसम्म राहत पुग्न नसकेको बताएका हुन् ।

नगरप्रमुख, नगर र वडाका जनप्रतिनिधिहरुले बजेट अपुग भएको भन्दै स्थानीयलाईबाहेक ज्यालामजदुरी गर्नेलाई राहत दिन नसक्ने बताएको अध्यक्ष मल्लले जानकारी दिए ।

“उपमहानगर प्रमुख डा. धवल शम्शेर राणासँग पटकपटक सर्वदलीय र सर्वपक्षीय छलफल हुँदा समेत मेयर राणा स्थानीय नागरिकलाई मात्रै राहत दिने अडानमा रहेपछि मजदुरहरु छुटेका छन्,” उनले भने, “मतदाता नामावलीमा नाम भएका र नागरिकता भएकाले मात्रै राहत पाएका छन्, ज्याला मजदुरी गर्ने राहतबाट बञ्चित भएका छन् ।”

केन्द्र र प्रदेश सरकारले बजेट नदिएको र स्थानीय विकास बजेटमार्फत् राहत दिइएको भन्दै उपमहानगर प्रमुखले कसैको कुरा नसुनेको समेत उनले बताएका छन् ।

नगरप्रमुखले नागरिकता भए पनि सम्बन्धित वडाकै नागरिक र नागरिकता भए मात्रै राहत पाउने विधि बनाएको ज्याला मजदुर गर्दै आइरहेकाहरु रोगभन्दा भोकले मर्ने अवस्थातिर गइरहेको पनि मल्ले बताए ।

“स्थानीय मतदाता भए मात्रै राहतै पाउने स्थिति बन्यो, मेरो नागरिकता बाँके जिल्लाकै छ तर म बैजनाथको छु, भने मैले बाँके उपमहानगरबाट राहत नपाउने विधि बनाइएको छ,” मल्लले भने, “उपमहानगर प्रमुख हाम्रो बजेटले भ्याउँदैन्, संघ र प्रदेशबाट बजेट आएको छैन, अपेक्षाभन्दा बढी नामावली आएकाले राहत दिन सक्दैनौं भनेर पन्छिरहेका छन् ।”

यस्तै उनले व्यवसायीहरुले सरकारको निर्णय मान्न तयार नरहेको र चैत महिनाको तलब श्रमिकलाई अनिवार्य दिने कुरा लागू नगरेको पनि बताए ।

अन्टुफ बाँकेका अध्यक्ष मल्लले भेरी ग्यास, मनकामना ग्यास, पेट्रोल पम्प लगायत उद्योगहरुका काम गर्ने श्रमिकहरुलाई रोजगारदाताले पारिश्रमिक नदिएको भन्दै मेडिकल कलेज, कोहलपुर नेपालगंज, वेस्टर्न हस्पिटलका स्वास्थ्यकर्मीहरुले अत्यावश्यक सेवामा काम गरिरहेको हुँदा सरकारले घोषणा गरेअनुरुपको सेवा सुविधा आफूहरुले पनि पाउनुपर्ने माग राखेको पनि बताए ।

केहीदिन अघि दैनिक ज्यालादारी मजदुर र स्थानीय विपन्न परिवारहरु राहत नपाएपछि नेपालगञ्ज उपमहानगरपालिका ४ मा आन्दोलित भई वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

स्मरणीय के छ भने, यही बैशाख १६ गते नेपालगंज उप-महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयले राहत सामग्रीका लागि दरभाउ पेश गर्ने सम्बन्धी सूचना स्पष्टरुपमा भाडामा बस्ने, ज्यामी, मजदुर, रिक्साचालक, फुटपाथ नाङ्गले पसले, विपन्न वर्गलाई राहत वितरण गर्न भनी प्रकाशित गरेको देखिन्छ ।

नेपालगञ्ज उप–महानगरपालिकाले नगर क्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने १२ हजार बढी विपन्न परिवारलाई राहत वितरण गरेको आफ्नो वेवसाइटमा उल्लेख गरेको छ ।

“नगरभित्र बसोबास गर्ने  विपन्न समुदायका दैनिक ज्याला मजदुरी गर्ने, श्रमिक  गरि १२ हजार ४०६ परिवारलाई राहत वितरण गरिएको हो,” पालिकाको वेवसाइटमा भनिएको छ,  प्रति परिवार १५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, एक लिटर तेल, एक किलो नुन र एउटा सावुन वितरण गरिएको हो ।”

  •  
  •  
  •  
  •  
  •