अधिकार संघर्षबाट प्राप्ति हुन्छ भन्ने सन्देश मई दिवसले दिएको छ – शालिकराम काफ्ले

उपमहासचिव, शालिकराम काफ्ले अखिल नेपाल ट्रेड युनियन महासंघ

काठमाडौं । आज मई १ अर्थात् १३१औँ विश्व मजदूर दिवसको अवसरमा संसारभरि छरिएर रहेका श्रमिकहरु आफ्नो अधिकारको निम्ति अझ संगठित हुन र संर्घषशील हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।

अमेरिकाको शिकागो शहरको हे मार्केटमा श्रमिकहरुले आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा विश्रामको निम्ति गरेको आन्दोलनमा लाखौँ श्रमिकहरु सहभागी भए । त्यहाँका शासकले आन्दोलनलाई बलपूर्वक दबाउन श्रमिकलाई झुट्ठा मुद्दा लगाउने साथै मजदुरको हत्या गर्दा समेत आन्दोलन रोकिएन मजदुरले अधिकार लिएरै छाडे । आज त्यो आन्दोलनले आजकै दिन सफल भयो । इतिहासमा पहिलो पटक श्रमिकहरुले आफ्नो माग पुरा गराउन सफल भए । शासकलाई श्रमिकहरुले आन्दोलनको बलमा झुक्न बाध्य बनाए । मई दिवस यही आन्दोलनको पर्याय हो, पहिलो पटक श्रमिकहरु विजय भएको दिन हो यो । त्यस आन्दोलनको विजय र प्रभावले युरोप अमेरिका तथा एसिया र ल्याटिन अमेरिकाको थुप्रै शहरहरुमा धेरै ठुला ठुला श्रमिक आन्दोलनहरु भए । अन्ततः ती आन्दोलनहरु विश्वव्यापीरुपमा कहीँ केन्द्रीत र कहीँ विकेन्द्रित ढङ्गले आज पनि चलिनैरहेको छ ।

आज हाम्रो सन्दर्भमा मई दिवस र यसको महत्व अझ बढिरहेको छ । हामीले लामो क्रान्तिकारी तथा बलिदानपूर्ण आन्दोलन जहाँ हजारौँ श्रमिकहरुले बलिदान गरे । त्यही बलिदानबाट मजदूर पक्षीय योगदानमा आधारित सामाजिक सुरक्षा ऐन प्राप्त गरेका छौँ । यो पूर्ण त छैन् तथापि यस कानुनलाई पनि कार्यान्वयन गर्न नत सरकार नत व्यवसायी इमानदारीपूर्वक लागि रहेका छन् । बरु नयाँ श्रम ऐनभित्र रहेको मजदूरविरोधी दफाहरुको गलत प्रयोग गर्दै १५/३० वर्षदेखि प्रतिष्ठानमा काम गरिरहेका श्रमिकहरुलाई बिनाकारण कामबाट निश्कासन गर्ने काम दिनदिनै बढिरहेको छ । सामाजिक सुरक्षा र नयाँ श्रम ऐनको बारेमा भ्रम सिर्जना गर्ने काम पनि भइरहेको छ ।

त्यतिमात्र होइन्, आज कोरोनाको विश्वव्यापी प्रभावपछि नेपाल त्यसबाट अछुतो रहने कुरै भएन । यसको पनि सबैभन्दा ठूलो मार यिनै श्रमिकको जीवनमा परेको छ । उद्योग कलकारखाना बन्द छ, श्रमिकले काम पाएको छैन् । व्यवस्थापक श्रमिक तथा त्यहाँ कार्यरत श्रमिकको प्रतिनिधित्व गर्ने ट्रेड युनियनसँग छलफल नै नगरी तलब नदिने घोषणा गरिएको छ र कोरोना संकट देखाएर श्रमिक कटौती, निस्काशन समेत गरिएको छ भने कतिपय प्रतिष्ठानमा न्यूनतम् सुरक्षा मापदण्ड पुरा नगरी काममा लगाइएको छ । यी सबै विषयहरुसँगै मजदूरहरु लकडाउनका कारण गन्तव्य पुग्न सयौं किलोमिटर लामो यात्रा हिँड्न बाध्य भएका छन् । श्रमिकहरु लकडाउनका कारण समस्यामा परेका छन् ।

हाम्रो सिङ्गो संगठन र नेता कार्यकर्ता यो विषम घडीमा श्रमिकहरु समस्या हल गर्न आममजदूरको बीचमा रहेर समस्या समाधानको निम्ति निरन्तर लागि नै रहेका छौँ । र, पनि यी समस्याहरु पूर्णत समाधान भएका छैनन् । हामीलाई थाहा छ । शासक वर्गले त्यतिकै अधिकार दिनेवाला छैन्, मजदूरको समस्या समाधान गर्ने पक्षमा छैनन् । अधिकार संघर्षबाट प्राप्ति हुन्छ, तमाम समस्याहरु आन्दोलनबाट हल हुन्छ भन्ने सन्देश र मजदुरहरुलाई आन्दोलनमा होमिने उर्जा मई दिवसले दिएको छ । यसकारण मजदुरका अधिकार प्राप्त गर्न मई दिवसले देखाएको बाटोमा सम्पूर्ण श्रमिकलाई लामबद्ध हुन आग्रह गर्दै आम श्रमजीवी मजदुरहरुलाई ट्रेड युनियनमा आवद्ध भई आफ्नो अधिकारका निम्ति निरन्तर संघर्षमा लाग्न मई दिवसको अवसरमा पुनः शुभकामना व्यक्त गर्न चाहन्छु ।

  •  
  •  
  •  
  •  
  •