किट सकिएपछि भैरहवामा कोभिड–१९ को पीसीआर परीक्षण रोकियो

२१ बैशाख ०७७, रुपन्देही । जिल्लाको भैरहवास्थित जनस्वास्थ्य प्रयोगशालामा ‘आरएनए एक्स्ट्रयाक्सन’ किट सकिएपछि आइतबारदेखि कोभिड–१९ को पीसीआर परीक्षण रोकिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले परीक्षण किट सकिएकोे जानकारी दिएका छन् ।
डा. गिरीले भने, ‘हामीसँग भएको ‘आरएनए एक्स्ट्रयाक्सन’ किट सकिएपछि पीसीआर जाँच बन्द भएको छ ।’

चैत २३ गतेदेखि सञ्चालनमा आएको यस प्रयोगशालामा हालसम्म ३३४ जनाको कोभिड–१९ परीक्षण भएको बताउँदै उनले पाँच सय किट माग गरिएको बताए ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीकाअनुसार प्रादेशिक प्रयोगशाला भैरहवा, भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरी गरी प्रदेश ५ का तीनवटा प्रयोगशालामा दैनिक करिब २० जनाको पीसीआर परीक्षण हुँदै आइरहेको पनि जानकारी दिए ।

कोशी अस्पतालको कोरोना ल्याबको अटोमेटिक मेसिन बन्द


यस्तै कोशी अस्पतालको कोरोना परीक्षण ल्याबको अटोमेटिक मेसिन एक सातायता बन्द छ । कोरोना परीक्षण गर्ने अटोमेटिक मेसिनमा प्रयोग हुने रिएजेन्ट (आरएनए एक्ट्रयाक्सन किट) मन्त्रालयले नपठाउँदा ल्याब बन्द भएको हो ।

अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले रिएजेन्ट किट नहुँदा सामान्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने बाध्यता रहेको बताइन् ।
शनिबार मात्रै प्रदेश सरकारले कोरोना परीक्षणका लागि छुट्टै ल्याब थप गरेको छ । तर कोशी अस्पतालको ल्याब पूर्ण क्षमतामा सञ्चालन भएको छैन् ।

कोशी अस्पतालले हालसम्म ६४१ जनाको स्वाब परीक्षण गरिसकेको छ ।

  •  
  •  
  •  
  •  
  •