कोरोना रोकथामका लागि अर्थ मन्त्रालयबाट ३ अर्ब ९२ करोड निकासा

२२ बैशाख ०७७, काठमाडौं । अर्थमन्त्री डा. युवाराज खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अर्थ मन्त्रालयले एक अर्ब ८ करोड रुपैयाँ निकासा गरेको जानकारी दिएका छन् ।

सोमबार संसदको अर्थसमितिमा सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चालेको कदम र अर्थतन्त्रमा पारेको प्रभावबारे जानकारी दिँदै डा. खतिवडाले स्वास्थ्य मन्त्रालयका लागि उक्त रकम निकासा गरेको जानकारी दिएका हुन् ।

यस्तै उनले स्वास्थ्य सामग्री खरिदका लागि रक्षा मन्त्रालयमार्फत् नेपाली सेनालाई दुई अर्ब ३४ करोड र सरकारले स्थापना गरेको कोरोना कोषमा ५० करोड रुपैयाँ निकासा भएको बताए ।

स्वास्थ्य मन्त्रालय, नेपाली सेना र कोरोना कोषमा गरी कूल ३ अर्ब ९२ करोड निकासा भएको उनले जानकारी दिएका छन् ।

अर्थमन्त्री खतिवडाले कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि सरकारले स्वास्थ्य सामग्री, उपकरण तथा जनशक्ति परिचालनमा कमी हुन नदिइएको समेत समितिलाई जानकारी दिए ।

उनले चैत महिनासम्म लक्ष्यको ८० प्रतिशत राजश्व संकलन भएको तर त्यसपछि लक्ष्यको एक चौथाइमात्र भन्सार राजश्व संकलन भएको पनि बताए ।

  •  
  •  
  •  
  •  
  •