नेपालगञ्ज उपमहानगर २५ गते मध्यरातसम्म पूर्णरुपले निषेधित क्षेत्र घोषणा

२२ बैशाख ०७७, बाँके । जिल्लाको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले नेपालगञ्ज उपमहानगरपालिकालाई २५ गते मध्यरातसम्मका लागि पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिप्रका बाँकेले बैशाख २३ गते बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि उपमहानगरलाई पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरिएको जनाएको हो ।

नेपालगञ्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काले बताएका छन् ।

आज बसेको बैठकले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी साथै स्वाब संकलन र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ ।

आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने निर्णय भएको छ ।

यस्तै बैठकले सामाजिक तथा धार्मिक सद्भाव खलल पर्ने सामग्री प्रकाशन, प्रसारण गर्ने व्यक्तिको पहिचान गरी कानूनी कारवाही गर्ने निर्णयसमेत गरेको छ ।

  •  
  •  
  •  
  •  
  •