शिक्षा मन्त्रालयको निर्देशन : अर्को निर्णय नभएसम्म कुनैपनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु (सूचनासहित)

२२ बैशाख ०७७, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्म विद्यार्थी भर्ना र परीक्षाका कार्यक्रम तय नगर्न सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार सोमबार नेपाल सरकारबाट अर्को निणर्य नभएसम्म कुनै पनि विद्यालयलाई कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्न, नगराउन निर्देशन दिएको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दीपक शर्माद्वारा हस्ताक्षरित विद्यार्थी भर्ना र परीक्षा सम्बन्धमा जारी सूचनामा भनिएको छ, “हाल सबै विद्यालयहरुको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा नेपाल सरकारबाट अर्को निणर्य नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु, नगराउनु हुनका साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरु नगर्नु, नगराउनु हुन सूचित गरिन्छ ।”

एसईई, कक्षा ११ र १२ को परीक्षा स्थगित रहेको सम्बन्धमा वस्तुस्थितिको सुक्ष्म अध्ययन र परामर्श लिने कार्य जारी रहेको भन्दै मन्त्रालयले परीक्षा सञ्चालन सम्बन्धमा हालसम्म नयाँ निर्णय नभएको जनाएको छ ।

संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबैप्रकारको शुल्क छुट दिने भनी नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयद्वारा जारी सूचनाको पूर्णपाठ:

आज बिहान हाकाहाकीले “शैक्षिक क्यालेण्डर मिलान र भर्ना अभियानको बजेट कुम्ल्याउने खेल रोकौं” शीर्षकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् प्रदेश २ संयोजक देवकुमार यादवले सुझाएका समाचारलाई प्राथमिकता दिई प्रकाशित गरेको थियो । केही घण्टामै मन्त्रीस्तरीय निर्णयबाट विद्यालयहरुलाई स्पष्ट निर्देशन दिइनु समाचारको सकारात्मक असर मान्न सकिन्छ ।

  •  
  •  
  •  
  •  
  •