कोभिड–१९ संक्रमणबाट नाइजरका श्रममन्त्रीको निधन

२३ बैशाख ०७७, काठमाडौं । कोभिड–१९ को संक्रमणबाट अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको त्यहाँको टेलिभिजनले जनाएको छ ।

सत्तारुढ सोसल डेमोक्रयाटीक पार्टी (पिएसडी)ले ५५ वर्षीय बेन ओमारको राजधानी नियामेको मुख्य अस्पतालमा उपचारकै क्रममा आइतबार निधन भएको बताएको हो ।

मन्त्री बेन ओमारको निधन भएको समाचार प्रशारण गर्नुअघि टेलिभिजनले मन्त्री बेन ओमारले कोरोना भाइरसका बारेमा व्यक्त गरेका सन्देश प्रशारण गरिएको थियो ।

उनले सन्देशमा कोरोना भाइरस निकै खतरनाक र घातक रहेको र यो प्रकाशको गतिमा तिब्र रुपमा फैलिने स्वभावको रहेको बताएका थिए ।
“यो भाइरस रोक्नका लागि हामीले आफैंलाई पक्रनु पर्छ,” मन्त्री ओमारले भनेका थिए, “आत्मानुशासन मात्र यस भाइरसलाई नष्ट गर्ने हतियार हो ।”

नाइजरका राष्ट्रपति मोहमदु इसोफुले बेन ओमारको निधनबाट आफू अत्यन्त दुखित भएको बताएका छन् ।

नाइजरमा कोरोनाबाट हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ७५५ जनामा संक्रमण देखिएको छ ।

  •  
  •  
  •  
  •  
  •