राहत लिन गएका सर्वसाधारणलाई प्रहरीको अश्रुग्यास र गोली

२३ बैशाख ०७७, सिराहा । राहत लिन सिराहाको मिर्चैया नगरपालिका पुगेका सर्वसाधारण नागरिकमाथि प्रहरीले गोली चलाएको छ ।

मापदण्ड विपरीत गएर जनप्रतिनिधिले रहात वितरण गरेको भन्दै स्थानीयले विरोध गर्दा भिड बढेपछि प्रहरीले गोली चलाएको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले सोमबार वडा कार्यालमा ढुंगामुढा भएपछि हवाई फायर गरिएको बताए ।

प्रदेश २ का सांसद दिलिप साहले पनि राहत वितरणका लागि प्रदेशले बनाएको मापदण्डबाहिर गएर मिर्चैया नगरपालिका –७ फुलबरियामा वडा अध्यक्षले राहत वितरण गरेको भन्दै सर्वदलीय छलफलका प्रतिनिधिहरुले विरोध गरेपछि राहत नपाउनेहरुको भिड बढेसँगै प्रहरीले गोली चलाएको पुष्टि गरे ।

सांसद साहले वडाअध्यक्षसहित गठित दलको प्रतिनिधिहरु सम्मिलित छलफलअनुसार वडाअध्यक्षले राहत वितरण नगरेपछि विवाद बढेको जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), हालै गठित समाजवादी, नेपाली काँग्रेसको प्रतिनिधि सम्मिलित छलफल र सहमतिअनुसार नगरेर वडाध्यक्षले मनोपली राहत वितरण गरेको दलीय प्रतिनिधिले आरोप लगाएको भन्दै उनले वास्तविक पीडित र विपन्न परिवारसम्म कोरोना राहत नपुगेको पनि बताए ।

जनप्रतिनिधिहिरुले राहत वितरण गर्दा आआफ्नो मान्छेलाई वितरण गर्ने गरेकाले वास्तविक पीडितहरुले राहतको अनुभूत गर्न नसकेको भन्दै सांसद साहले अनियमितता रोक्न र गुणस्तरहीन राहत दिनुभन्दा राहतस्वरुप नगद÷रकम नै उपलब्ध गराउनु उचित हुने बताए ।

विपन्न परिवारलाई राहत वितरण गर्ने नामावलीमा छुटाएको भन्दै वडा कार्यालय घेराउ गर्दै आएका विपन्न स्थानीयलाई वडा अध्यक्ष रामकुमार यादवले राहत वितरण गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रदेश सरकारले उपलब्ध गराएको राहतमा स्थानीय जनप्रतिनिधिले वास्तविक पीडितको नाम काटेर आफ्ना कार्यकर्तालाई प्राथमिकतामा राखेको तथा भर्पाई गरिएभन्दा कम राहत दिएको भन्दै सर्वसाधारणले प्रश्न गरेपछि झडपको स्थिति बनेको थियो ।

भिड नियन्त्रण गर्न मिर्चैया–७ फूलबरियामा त प्रहरीले नौ राउन्ड हवाई फायर र चार सेल अश्रुग्यास प्रहार गरेको थियो ।

उक्त घटनामा प्रहरीको लाठीबाट राहत लिन आएका स्थानीय दलित सियाराम महरा, शेरोदेवी महरा र दुलारचन्द्र पासवान घाइते भएका छन् ।
राहत माग्न आउँदा प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित बनेका स्थानीयले वडा कार्यालयमा ढुंगामुढा समेत गरेका थिए ।

झडपपछि स्थिति सामान्य पार्न नेपाल प्रहरीसँगै सेना र सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो ।

वडा कार्यालयले प्रतिपरिवार १२ किलो चामल, एक किलो दाल, एक किलो नुन, पाँच सय ग्राम सोयाबिन, आधा लिटर खाने तेल राहत वितरणका लागि तयार गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •