सवारी साधनहरुको उपत्यका प्रवेशमा कडाई

२३ बैशाख ०७७, काठमाडौं । महानगरीय प्रहरी आयुक्त रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले सवारी साधनहरुको उपत्यका प्रवेशमा कडाई गरिएको बताएका छन् ।

खाद्यवस्तु बोकेका र स्वास्थ्य उपचारमा आएका अत्यावश्यक सवारी साधनबाहेक जिल्लाबाट पास लिएर आएता पनि उपत्यका प्रवेश पूर्णरुपमा निषेध गरिएको डिआइजी पोखरेलले जानकारी दिए ।

उनले जिल्ला–जिल्लामा पास बाँड्दा समस्या देखिएकाले उपत्यका प्रहरी त्यस्ता गाडी रोक्न बाध्य भएको बताए ।

नागढुङ्गाको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले आज मंगलबार मात्रै नागढुङ्गा नाकाबाट प्रहरीले ८० वटा गाडी फर्काइसकेको बताए ।

प्रहरीको रेकर्डअनुसार हाल विभिन्न काम देखाएर सवारी पास लिएर करिब चार सय सवारी साधन दैनिक उपत्यका आउने गरेको देखिन्छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणको उच्चजोखिम रहे पनि मानिसहरु विभिन्न बहाना बनाई पास लिन थालेपछि पासको दुरुपयोग रोक्न गृह मन्त्रलयले यसैहप्ता लकडाउन कडाई गर्न निर्देशन दिएससँगै प्रहरीले सवारी साधनको आवागमनमा कडाई गरेको छ ।

उपत्यका प्रवेश गर्ने मुख्य नाकाहरु नागढुङ्गा, जगाती, फर्पिङ्ग र जर्सिङपौवा रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •