सशस्त्र प्रहरीका स्थायी बीओपी चार गुणा बढाइँदै

काठमाडौं । सरकारले सीमा नाकाको सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी)को संख्या चार गुणाले बढाउने तयारी गरेको छ ।

हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी रहेकामा सो संख्या बढाएर ५ सय पु-याउने गरी तयारी अगि बढाइएको हो । सशस्त्र प्रहरीले सोसम्बन्धी खाका तयार गरेर सोमबार गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ ।

हाल नेपालतर्फको सीमा नाकामा भारततर्फका ५ सय ३० बीओपी सञ्चालनमा छन् भने नेपालतर्फका सशस्त्र प्रहरीका १ सय २० बीओपी मात्रै स्थायी रूपमा खडा भएका छन् । ती बीओपीमा ५ हजार जनशक्ति खटाइएको छ ।

पछिल्लो समय सशस्त्र प्रहरीले कोरोना संक्रमणको सन्त्रास बढ्दै गएपछि उत्तरी र दक्षिणी नाकातर्फ कडाइ गर्दै धमाधम अस्थायी चेक पोस्ट स्थापना गरिएको छ । कोरोना संक्रमणको सन्त्रासपछि हाल १ हजार २ सय १३ अस्थायी चेक पोस्ट सीमा नाकामा स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सरकाले यही मौकामा सीमाको सुरक्षालाई दीर्घकालीन बनाउने गरी स्थायी बीओपी नै राख्ने गरी प्रक्रिया अघि बढाएको हो । सशस्त्र प्रहरीले बीओपीको संख्या बढाउँदा त्यही अनुपातमा जनशक्ति परिचालन गर्न ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव गृहमन्त्रीसमक्ष गरेको छ ।

हाल एक बीओपीबाट अर्को बीओपी सरदरमा १५ किलोमिटरको दूरीमा छ भने प्रत्येक स्थायी बीओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी खटिएका छन् । तर, बीओपीको संख्या बढेर ५ सय पुग्दा एक बीण्ओपीबाट अर्को बीओपीको दूरी करिब साढे तीन किलोमिटर हुने सशस्त्र प्रहरीको अनुमान छ ।

बीओपी थपसम्बन्धी गृह मन्त्रालयमा सोमबार आयोजित छलफलमा गृहमन्त्री थापाले सीमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बीओेपी थपसम्बन्धी प्रस्ताव आफूले मन्त्रिपरिषद्मा लैजाने बताएका छन् ।

सो क्रममा गृहमन्त्री थापाले बीओेपी रहने स्थान, आवश्यक पूर्वाधारलगायत विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशनसमेत दिएका छन् ।

गृहसचिव महेश्वर न्यौपानेले सीमा सुरक्षाको विषय संवेदनशील विषय भएकाले सीमाबाट हुने अपराध, चोरी र तस्करी नियन्त्रणका लागि बीओेपी बढाउनुको विकल्प नरहेको बताए ।

उनले भन्सारको १ सय ११ स्थानमा रहेका जग्गा बीओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिए ।

गृह मन्त्रालयको नेतृत्वमा थापा आउनुअगि सीमा क्षेत्रमा ८७ वटा स्थायी बीओपी सञ्चालित थिए । उनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सो संख्या बढाएर १ सय २० पु¥याइएको थियो । यसअघि थापाले सो संख्यासमेत बढाएर २ सय २१ पु-याउने गरी मन्त्रिपरिषद्मा प्रस्ताब लगेका थिए भने सो प्रस्ताव पारितसमेत भइसकेको थियो ।

नेपालको भारतसँग करिब १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि सीमा जोडिएको छ । हालसम्म सबै स्थायी बीओपीमा गरी सशस्त्र प्रहरीका ४ हजार २ सय जनशक्ति सीमा सुरक्षामा खटिएका छन् । हाल सशस्त्र प्रहरीको कुल दरबन्दी ३७ हजार १ सय १७ छ ।
राजधानीमा महेश्वर गौतमले लेखेका छन् ।

  •  
  •  
  •  
  •  
  •