सौराहाका होटल असोजसम्म बन्द

२३ बैशाख ०७७, भरतपुर । कोभिड–१९ को संक्रमण रोकिएर बन्दाबन्दी खुले पनि सौराहाका होटल भने असोज मसान्तसम्म बन्द गरिने भएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले व्यवसायभन्दा पनि स्वास्थ्य ठूलो भएकाले असोजसम्म नै होटल बन्द गरिने निष्कर्षमा होटल व्यवसायीहरू पुगेको जानकारी दिनुभयो ।

हामी हाम्रा मातहतका सम्पूर्ण होटल असोजसम्म बन्द गर्ने निर्णयमा पुगेका हौँ, उहाँले भन्नुभयो, “चैत वैशाखजस्ता सिजनकै महिनामा होटल बन्द हुँदा समस्या भएको छ । जेठ पनि सिजनकै महिना भए पनि यही अवस्थामा खोल्न सकिने अवस्था छैन । ”

सौराहामा असारदेखि असोजसम्मको समय अफ सिजनका रूपमा लिइन्छ । वर्षाका कारण निकुञ्जका खोलासमेत बढ्ने र झाडी बढी हुँदा निकुञ्ज प्रवेशमा समस्या हुने भएका कारण यो सिजनमा पर्यटक न्यून मात्रै आउने गर्दछन् । “अफ सिजनमै होटल खोलेर खर्च बढाउनुभन्दा कर्मचारीलाई समेत लामो बिदामा छाडिदिने निष्कर्षमा हामी पुगेका हौँ,” उहाँले भन्नुभयो । यसरीले लामो बिदामा बस्ने कर्मचारीका लागि भने न्यूनतम सेवासुविधा दिइने बताइएको छ । नेपाल होटल व्यवसायी महासङ्घ (हान)ले तोकेअनुसारको तलब कर्मचारीलाई दिइने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

वैशाख १ गतेवाट लागू हुनेगरी बन्दाबन्दीको अवधिमा कर्मचारीका लगि खाइपाई आएको तलबको १२.५ प्रतिशत रकम मात्रै सेवा शुल्कका रूपमा उपलब्ध गराउने हानले आइतबार मात्रै निर्णय गरेको छ । श्रमिक तथा कर्मचारीले हानले तोकेको मूल्यअनुसार तलब लिन अनिच्छा जनाए उनीहरूलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीका लागि प्रक्रिया मिलाएर सूचना निकाली बिदासम्म दिन सकिने हानले गरेको निर्णय आफूहरूले कार्यान्वयन गर्ने सङ्घका अध्यक्ष भट्टराईले बताउनुभयो ।

सौराहामा अहिले न्यूनतम १२ हजारदेखि दुई लाख रुपियाँसम्म मासिक तलब खाने कर्मचारी रहेका सङ्घका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो । सौराहाका १२५ वटा होटलमा पाँच हजार पाँच सय कर्मचारी कार्यरत छन् । गोरखापत्रमा वसन्त पराजुलीले लेखेका छन् ।

  •  
  •  
  •  
  •  
  •