अनिल शर्माका लागि हिरासत, जेल के अनौठो भो र ! – धन प्रसाद सुवेदी

धन प्रसाद सुवेदी/

२०५३ सालतिर एमए पढ्न कीर्तिपुरमा बस्दा एक जना दुब्ला पातला नेता हाम्रा डेरामा आउँथे, चिप्लो चाप्लो खानेकुरासँग सारै डराउँथे । दिउँसो हामी कलेज पढ्न जाँदा कोठाभित्र एक्लै बसेर पढ्थे । उनी भर्खर–भर्खर तत्कालीन एकता केन्द्र (नारायणकाजी समूहबाट) विद्रोह गरेर माओवादीमा आएका थिए । मेरो र दिलकुमार खड्काको साझा कोठा थियोे, जोडिएको कोठा सुकुम शर्माको थियो । उनकै नेतृत्वमा जनआन्दोलन दिवस चैत २३ गते राति हामीले ढुंगेअड्डा क्षेत्रमा मसालजुलुस र कीर्तिपुर बजारमा ब्ल्याक आउट गरेका थियौँ ।

केही महिनापछि उनी कता गए कुन्नी, उनीपछि रेखा शर्मा र त्यसपछि मिलन नेपाली (बेपत्ता) नेता भएर आए, हामीले केही दिन बास दिन र भात खुवाउन पायौं ।

एमए सकेपछि म खोटाङमै जागिर खान गएँ, त्यस बिचमा ती दुब्ला पातला नेता नेपालमा जेल परेका, छुटेका र फेरि भारतमा जेल परेका भन्ने सुनेको थिएँ ।

जनआन्दोलन २ मा म काठमाडौं आइसकेको थिएँ । शान्ति प्रक्रियापछि म ट्याङ्ला बस्ने उनी ढुंगेअड्डा बस्ने हाम्रो भेट हुन्थ्यो । उनको अग्नि पक्षीका गीत भन्ने कविता संग्रहका बारेमा मैले समीक्षा पनि लेखेको थिएँ ।

भूमिगत जीवन र जेलयात्रासँगै उनले मधुमेहको उपहार पाइसकेका रहेछन् । कटुवाल काण्डपछिको विरोध कार्यक्रममा सहिदगेटमा सँगसँगै जुलुसमा हिँड्दा प्रेसर लो भएर झन्डै फेन्ट भएका थिए । हतारहतार एउटा होटलमा पसेर तरकारी खाएका थियौँ ।

त्रिविको परीक्षाका सिलसिलामा म दुई पटक रसुवा गएँ र दुबै पटक झन्डै महिना/महिना दिन त्यहाँ बसेँ । त्यतिबेला थाहा भयो, रसुवामा पार्टी इन्चार्ज हुँदा उनले पु-याएको योगदान ।

शारीरिक रूपमा कमजोर तर विचारमा भने अत्यन्तै बलिया ती नेताको नाम हो –अनिल शर्मा विरही ।

व्यक्तिगत लोभलालचा, पद, प्रतिष्ठा, मन्त्री, कमिसन आदिका पछि लागेका भए प्रचण्ड र बादलकोे जिल्लाका प्रभावशाली नेता अनिलका लागि जताततै अवसर थिए ।

उपचारका लागि अस्पतालमा भर्ना भएका अनिल शर्मासँग कुनै हातहतियार थिएन होला, तर डायरी र कलम चाहिँ थियो होला किनकि उनी लेखक हुन् ।

उनी वैचारिक रूपमा चाहिँ खरै हुन् । किनकि प्रचण्ड, बादल, रूपलाल विश्वकर्मा, अमिक शेरचनहरूको संगतले उनलाई त्यही सिकाएको थियोे ।

अब प्रतिबन्धित पार्टीका नेतालाई पक्राउ गरेको विषयमा प्रश्न उठाएर गैरकानुनी कुरा किन गरौँ ।

तर यति चाहिँ भन्छु, नेपालमा गणतन्त्र ल्याउनका लागि अनिल शर्माले गरेको त्याग र योगदान नेपालका अहिलेका कुनै पनि मन्त्रीको भन्दा १ इन्च पनि कमी छैन् ।

अनिल शर्माका लागि त हिरासत, जेल के न अनौठो भो र !

बादल गृहमन्त्री हुँदा अनिल शर्मा जेल यो पनि पचिसकेको कुरा हो ।

कुरा यत्ति हो बिरामी अनिल शर्माको उपचारमा अलिकति पनि तलमाथि भयो भने इतिहासले हामीलाई कति थुक्छ भन्ने कुरा सम्बन्धित सबैले आफ्नो नाम सम्झेर ममः भनिदिए हुन्थ्यो ।

दिक्तेल रुपाकोट मझुवागढी, वडा नं ६, नेर्पा, खोटा

१ नं प्रदेश, नेपाल

  •  
  •  
  •  
  •  
  •