पत्रकारको पेसागत हकहित र स्वतन्त्रता रक्षाका लागि सरकार साथमा छ – प्रधानमन्त्री केपी शर्मा ओली

२४ बैशाख ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

गोरखापत्र १२० वर्ष प्रवेशको सन्दर्भमा प्रधानमन्त्री ओलीले शुभकामना दिँदै यस्तो बताएका हुन् ।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको बताउँदै पत्रकारको पेसागत हकहित र स्वतन्त्रता रक्षाका लागि सरकार साथमा रहेको पनि बताए ।

“नागरिकमा सत्य, तथ्य, निष्पक्ष र सन्तुलित सूचना प्रवाह गर्ने संवैधानिक अभिप्रायबाट प्रेसले सम्मानित र शक्तिशाली स्थान प्राप्त गरेको छ,’’ प्रधानमन्त्रीले भनेका छन्, “प्रेस स्वतन्त्रताप्रति हाम्रो प्रतिबद्धता र अविचलित निष्ठा रहेको छ । पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा छ ।’’

प्रधानमन्त्री ओलीले ०७७ चैत ११ बाट जारी ‘लकडाउन’को कठिन परिस्थितिमा पनि सञ्चारकर्मीले गरिरहेको कार्यसम्पादनप्रति सम्मान व्यक्त गर्दै गोरखापत्रले १२० वर्षदेखि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासमा समर्पित रही गरेको योगदानको प्रशंसा र यस संस्थानमा कार्यरत पत्रकार, प्राविधिक र कर्मचारीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •