२४ बैशाख ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघको पहलमा यातायात क्षेत्रका मजदुरहरुलाई राहत वितरण गरिएको छ ।
महासंघका अध्यक्ष जगत सिम्खडा र यातायात परिषद् इन्चार्ज सोम तामाङको पहलमा मंगलबार यातायात मजदुर संघ बागमती प्रदेशले मजदुरहरुलाई राहत वितरण गरेको हो ।
कोरोना भाइरसका कारण बन्दाबन्दीले कष्टकर जीवनयापन गरिरहेका नेपाल यातायात इकाई, गोठाटार यातायात इकाई र एयरपोर्ट ट्याक्सी ईकाईका ७५ जना मजदुरलाई राहत वितरण गरिएको हो ।
दिनभरि गाडी चलाएर जिविका चलाउने यातायात मजदुरहरु लकडाउनले भोकभोकै रहने स्थिति बनेपछि अखिल नेपाल यातायात मजदुर संघले आफ्नै कोषबाट र दाताहरुको सहयोगमा निरन्तर राहत तथा उद्दार गर्दै आइरहेको छ ।
बुधबार बिहान मात्रै बुढानिलकण्ड, महाराजगंज, चपली क्षेत्रका ट्याक्सी चालक मजदुुरहरुलाई राहत वितरण गरिएको यातायात मजदुरका बागमती प्रदेश अध्यक्ष दिपक केसीले जानकारी दिए ।
यस्तै यातायात परिषद् इन्चार्ज सोम तामाङले चैत्र ११ गते लकडाउन भएपछि यातायात मजदुरहरुले करिब ३ लाख मजदुरहरुलाई राजधानीबाट उद्दार गरेर थातथलो पठाइसकेको बताएका छन् ।
उनले दोलखा जिल्ला समन्वय समितिका सदस्य तथा नेकपाका युवा नेता विदुर शर्माले अलपत्र श्रमिकहरुलाई ५७ वटा गाडीमा आफ्नै खर्चमा उद्वार गरेको बताए । यस्तै एकाउन्न हजार रुपैयाँ बराबरको चामल सहयोग गरेको पनि बताए ।
यसैगरी नेपाल राष्ट्रिय यातायात ब्यबसायी महासंघ पर्यटनतर्फका संयोजक पुरुषोत्तम सिंखडाले पच्चीस हजार बराबरको खाध्यान्न र अरनिको पूर्वअध्यक्ष जित बहादुर भारतीले सात हजार पाँच सय बराबरको खाद्यान्न सहयोग गरेको पनि उनले जानकारी दिए ।