रामबहादुरले चितुवालाई मारेर १२ वर्षीय छोरालाई बचाए

२५ बैशाख ०७७, तनहुँ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले नरभक्षी चितुवाको आक्रमणबाट रामबहादुर कुमालले छोरालाई बचाएको बताएका छन् ।

प्रमुख बरालले बिहीबार बिहान १२ वर्षीय छोरा समिर कुमाललाई बाघले आक्रमण गर्न आएपछि चितुवासँग भिडेर बाबुले छोरालाई बचाएको जनाकारी दिएका हुन् ।

चितुवा र कुमालबीच भिडन्त हुँदा चितुवा मारिएको र बाबु कुमाल घाइते भएको भन्दै प्रमुख बरालले चितुवा करिब ३ वर्षको र तौल अन्दाजी २० किलोको रहेको बताए ।

कुमाल परिवारले व्यवसायिक रुपमा पालेको कुखुरा फारामबाट बिहान करिब ४ बजेको समयमा एक व्यक्तिले कुुुखुरा चोरेर भागेको देखेपछि चोरलाई कुमालले लखेट्दै जाँदा चितुवाले बालकलाई आक्रमण गर्न खोजेपछि चितुवा र कुमालको भिडन्त भएको भानु नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिइन् ।

चितुवासँग रामबहादुर कुमाल चिच्चाउँदै भिड्दै गरेको देखेपछि उनको दाजु र दुई भतिज पनि उनलाई बचाउन चितुवासँग भिड्न पुगेका थिए ।

चितुवासँग भिड्ने क्रममा रामबहादुर बाहेक अन्य तीन जना पनि सामान्य घाईते भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ ।

भानु नगरपालिका क्षेत्रमा मात्रै दुई वर्षको अवधिमा नरभक्षी चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भइसकेको छ भने तनहुँ जिल्लामा दुई वर्षको अवधिमा ९ बालबालिकाको मृत्यु हुनुका साथै ७ जना घाइते भएको डिभिजन वन कार्यालयका सूचना अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए ।

प्रहरीले घाइते कुमालको डुम्रेस्थित मोती मेडिकल हलमा प्राथमिक उपचार गरी अहिले गण्डकी अस्पताल पोखरामा थप उपचार भइरहेको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •