संघीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ

२६ बैशाख ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार संघीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

अपराह्न ४ बजे राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबारको बैठक प्रारम्भ गरिनेछ ।

कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले अधिवेशन सुरुवातका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।

राष्ट्रिय सभातर्फ अघिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा शुभकामना मन्तव्यको सम्भावित कार्यसूची तय गरिएको छ ।

यस्तै, सरकारले हालै दुई अध्यादेश जारीपछि साबिकका व्यवस्था पुनः जगाउन जारी गरेको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिक व्यवस्था जगाउने अध्यादेश २०७७ दुवै सदनमा प्रस्तुत हुनेछ ।

बैठक सुरु हुनुपूर्व कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सेवा विभागले दिएको प्रतिवेदनका आधारमा आवश्यक सुरक्षाको प्रबन्ध गरिएको प्रवक्ता पाण्डेले बताए ।

चालू अधिवेशन सरकारका वार्षिक कार्यक्रम साथै बजेट पनि प्रस्तुत हुनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यसैबीच संसद सचिवालयले अधिवेशनको प्रारम्भसँगै बजेट पारितसम्मको तालिका प्रस्ताव गरिसकेको छ ।

राष्ट्रिय सभाले सम्भावित कार्यतालिका प्रकाशित गरिसकेको छ । प्रतिनिधि सभाले कार्यतालिका सार्वजनिक गरेको छैन । सम्भावित कार्यतालिका अनुसार बैशाख २८ गतेबाट पूर्वबजेट छलफल गर्ने तयारी छ । दुई दिनसम्म छलफल चलाउने सचिवालयको तयारी छ ।

यस्तै, जेठ २ गते सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी सचिवालयले गरेको छ ।

संशोधन दर्तापछि नीति तथा कार्यक्रम जेठ ४ गतेबाट छलफल प्रारम्भ गर्ने तयारी छ । जेठ १५ गते भने सरकारका तर्फबाट वार्षिक बजेट प्रस्तुत हुनेछ ।

  •  
  •  
  •  
  •  
  •