नेपाली जनताले यो शक्तिशाली सरकारबाट के पाए – सांसद महतो

२७ बैशाख ०७७, काठमाडौं । समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले शक्तिशाली सरकारले जनतालाई केही नदिएको बताएका छन् ।

संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद महतोले यस्तो बताएका हुन् ।

संसदको पहिलो बैठकमा आफू निकै खुसी भएको र सरकारलाई समर्थन साथै सहयोग पनि गरेको भन्दै उनले प्रश्न गरे, “हिमाल, पहाड, तराई खुसी पाउला भनेर सरकारलाई समर्थन गरेका थियौं, आज प्रश्न उठाउन मन लागेको छ, नेपाली जनताले के पाए ? नेपाली जनताले यो शक्तिशाली सरकारबाट के पाए ?”

जनताले देखेका सपाना पूरा हुन नसकेको भन्दै सांसद महतोले सरकारलाई थप प्रश्न गरे, “सुशासन पायौं ? के समृद्धि पायौँ ? के सबैको लागि संविधान बन्यो ? के संविधानले पूर्णता पायो ? के हामीले पहिचान पायौँ ? के हामीले खोसिएका अधिकार फिर्ता पायौँ ?”

सरकारले यी सबै सवाल आज नउठाएको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउँदै सांसद महतोले भने, “भन्न चाहन्छु, नेपाली नागरिकको जीवन रक्षा गर्देउ । नेपाली नागरिकलाई बचाउ सरकार । नेपाली जनता संकटमा छन्, जीवन रक्षा गर । कोरोना संक्रमणबाट नेपाली जनताको रक्षा गर ।”

उनले महामारीविरुद्ध देश एक भएर लड्नुपर्ने आवश्यकता रहेको भन्दै लकडाउनलाई सबैले पालना गनुपर्ने पनि बताए ।

  •  
  •  
  •  
  •  
  •