कोरोना संक्रमितको संख्या १३४ पुग्यो

२९ बैशाख ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएकाहरूको संख्या १३४ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरेर कोभिड–१९ का पुष्टि भएकाहरूको संख्या १३४ पुगेको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको संख्या तेह्र (१३) पुगेको छ ।

नयाँ संक्रमितहरु कपिलवस्तु, यशोधरा गाउँपालिका –८ र बुद्धभूमि नगरपालिका –७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरू रहेका छन् । यस्तै रुपन्देही समरीमाई गाउँपालिका –७ र लुम्बिनी संस्कृतिक गाउँपालिका –६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरू छन् भने बर्दिया राजापुर –५ निवासी ११ वर्षीय महिला रहेकी छन् ।

मन्त्रालयले निजहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएको छ ।

  •  
  •  
  •  
  •  
  •