कर्णाली प्रदेश सरकारको निर्णय : अत्यावश्यक वस्तु तथा सामग्रीको आयातमा रोक नलगाउने

३० बैशाख ०७७, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षता बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यक वस्तु तथा सामग्रीको आयातमा रोक नलगाउने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले प्रदेशको सीमा लकडाउन कायम राखेर अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तु एवं सामग्री ल्याउन खुला गरेको हो ।

बैठकले विकास निर्माणका सामग्री, खाद्यान्न, ग्यास, पेट्रोलियमजस्ता पदार्थको आयात नियन्त्रितरूपमा खुला गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाण्डेले जानकारी दिएका छन् ।

यस्तै बैठकले कृषिजन्य निर्माणका सामग्री र बीउबिजन, मल, दाना, भुराको आयातलाई सहज बनाउने तर चल्ला, तरकारी, अण्डाजस्ता कृषि तथा पशुपक्षीजन्य वस्तुमा रोक लगाउने निर्णय गरेको प्रमुख सचिव पाण्डेले जानकारी दिए ।

यसैगरी कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार बबईमा हालसम्म अलपत्र परेका नागरिकलाई सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टाइनमा बस्ने शर्तमा जान दिने र बाँकी रहेकालाई प्रदेश सरकारको क्वारेन्टाइनमा व्यवस्थापन गर्ने निर्णय गरेको उनले बताए ।

यस अघि एम्बुलेन्सबाहेक प्रदेश सरकारले सवारीलाई बैशाख २२ गतेदेखि एक साताका लागि प्रदेशका सबै नाका पूर्णरूपले बन्द गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •