अपहरणको आरोप प्रमाणित भए झुण्डिन तयार छु – सांसद श्रेष्ठ

सांसद कृष्णकुमार श्रेष्ठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

५ जेठ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफूमाथि लागेको अपहरणको आरोप प्रमाणित भए आफू झुण्डिन तयार रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।

आफ्नो चरित्रहत्या गर्ने काम भएको भन्दै उनले भने, “सम्पूर्ण माननीयजीहरुलाई साक्षी राखेर म भन्न चाहन्छु, यदि प्रमाणित भयो भने सबै माननीयजीहरुको अगाडि म झुण्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ?”

सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा सांसद श्रेष्ठले के भने, पूर्णपाठ यस्तो छ :

सम्माननीय सभामुख महोदय,
सर्वप्रथम म नेपालको राजनैतिक परिवर्तन गर्ने सन्दर्भमा साहदत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । त्यसैगरी वर्तमान विश्व महामारी कोभिड–१९ बाट विश्वभरि नेपालमा पनि ज्यान गुमाउनु दुई जनाप्रति हार्दिक श्रद्धञ्जली व्यक्त गर्दछु । साथै, कोरोना परीक्षणमा पोजेटिभ नतिजा देखिएर उपचारार्थ सबै बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दछु ।

सभामुख महोदय,
सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्दै गर्दा इतिहासमै पहिलो पटक सम्माननीय राष्ट्रपतिज्यूबाट सरकारका नीति तथा कार्यक्रम सदन समक्ष प्रस्तुत गर्नेक्रममा स्पष्ट ढंगले राष्ट्रिय स्वाधीनताको विषयमा उल्लेख हुनु गौरवको कुरा हो ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूमि भएको स्पष्ट पार्दै छुटेको भूमिसहित नेपालको नक्सा जारी गर्ने कुरा उल्लेख हुनुले आमनेपालीलाई खुसी तुल्याएको छ । एतिहासिक सन्धि, नक्सा तथा तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट भारतसँगको सीमा सम्बन्धमा लामो समयदेखि बाँकी रहेको समस्या समाधान गर्ने प्रतिवद्धता जनाइनु आफैँमा ऐतिहासिक छ ।

हामी चाहे देशका कुनै पनि कुनामा बस्ने बासिन्दाहरु देशको स्वाधीनताका विषयमा बलात् कसैले कुदृष्टि लगाउँछ भने हामीलाई कदापि सह्य हुँदैन् । सरकारको नीति तथा कार्यक्रमको प्रमुख विषयका आएको स्वाधीनताको सवाललाई म व्यक्तिगत र जनप्रतिनिधिको हिसाबले हृदयदेखि समर्थन र सलाम गर्न चाहन्छु ।

सभामुख महोदय,
देशको वर्तमान परिस्थितिको यथार्थ मूल्याङ्कन गरी रोजगारमुलक कार्यक्रमलाई महत्व दिनु, कोभिड–१९लाई परास्त गर्न कुनै पनि कसर बाँकी नराखिनु र राहत वितरणमा समेत राम्रोसँग ध्यानदिने प्रतिबद्धता जनाउनु, घरेलु तथा मझौला उद्योग सञ्चालनमा जोड दिनु, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन, उत्पदकत्व बृद्धि र रोजगार सिर्जना गर्ने कुरामा प्राथमिकता दिनुले गरिबी घटाउने र मुलुकलाई आत्मनिर्भर बनाउन सक्ने दिशामा नीति तथा कार्यक्रमले दिशा निर्देश गरेको कुरा महशुस गरेको छु । जीवन चलाउन, बचाउन सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य नै हो । स्वास्थ्य संस्थाहरुको स्थापना एवम् स्तरोन्नति, २ हजार ६ सय २६ वडाहरुमा पूर्वाधार निर्माण र सेवा उपलबध गराउने, स्थानीय तहमा १५ देखि २५, जिल्लामा २५ देखि ५०, अञ्चललाई २ सय शैय्याको अस्पतालको स्तरोन्नति आदिले स्वास्थ्य सेवामा सबै जनताको पहुँच बिस्तारलाई सुनिश्चित गर्नेछ भन्ने विशवास लिएको छु । र, “चिनौं आफ्नो माटो, बनाऔं आफ्नो देश” भन्ने अभियान लगायत सुकुम्बासी समस्याको हलदेखि लिएर धेरै समस्याहरुको हल यस नीति तथा कार्यक्रमले ल्याएको छ ।

अन्तमा-सभामुख महोदय,
केही हप्ता अगाडि यहाँ सांसद अपहरण कुराहरु आए र म लगायत माननीय महेश बस्नेत समेतको चरित्र हत्या गर्ने काम जुन भयो । र, सम्पूर्ण माननीयजीहरुलाई साक्षी राखेर म भन्न चाहन्छु, यदि अपहरणको आरोप लगाउनेहरुलाई म चुनौति दिन चाहन्छु, यदि प्रमाणित भयो भने सबै माननीयजीहरुको अगाडि म झुण्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ?

धन्यवाद !

  •  
  •  
  •  
  •  
  •