काँग्रेसका नेता सिंह भन्छन् – सरकार भ्रष्टाचार गर्न दिन्नँ, सहन्नँ, कारवाही गर्छु भन्छ तर काण्डै-काण्ड

५ जेठ ०७७, काठमाडौं । काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रम आफ्ना कमजोरी ढाकछोप गर्न र बहसलाई अन्यत्र मोड्न ल्याइएको बताएका छन् ।

प्रतिनिभिसभा बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

उनले भने, “०७७/७८ को नीति र कार्यक्रम हेर्दै जाँदा ६३ पानाको, २७३ बुँदामा रहेछ । यो किन बनाउन परेको भन्दा आफ्ना कमजोरी ढाकछोप गर्न र आफूले डेलिभर गर्न नसकेको कुरालाई एकातिर डिवेट गर्न र अर्थतन्त्रलाई पनि ठीक ठाउँमा अगाडि बढाउन नसकेको कुराहरु साथै भ्रष्टाचारलाई, आफ्ना असफलतालाई ढाकछोप गर्न नीति र कार्यक्रम आएको हो भन्ने मलाई लागेको छ ।”

कमजोरीका उदाहरण दिँदै उनले नीति तथा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी उल्लेख रहेको र जसमा भ्रष्टाचार गर्न दिन्नँ, सहन्नँ, कारवाही गर्छु भन्नु हासउठ्दो विषय भएको बताए ।

“यो सरकार आएदेखि, कोरोना संक्रमण देखिसकेपछि स्वास्थ्य सामग्रीको खरिद काण्डदेखि लिएर बालुवाटार काण्ड, सेक्युरिटी प्रिन्टीङ्ग प्रेस काण्ड । कति काण्ड ? काण्डै काण्ड भन्ने हो भने मेरो समय नै जाने भो !” सांसद सिंहले भने, “सरकारको पूर्ण असफलताको नीति र कार्यक्रम आएको छ ।”

राष्ट्रिय सुरक्षामा लगाउनु पर्ने नेपाली सेनालाई शान्ति सुरक्षामा खटाइएको छ भन्दै उनले सरकारले जनतालाई अपमानित गरेको बताए ।

अर्थतन्त्रको सवालमा सांसद सिंहले चालु वर्षको अर्थतन्त्रबारे भने, “राजस्व संकलन गर्ने लक्ष्यमा लगडाउन अघि चैत्र १० गतेको तथ्याङ्कअनुसार ११ अर्ब, १२ खर्ब मध्ये ५० प्रतिशतभन्दा बढी उठाउन नसकेको छैन् ।”

“लक्षित चालू खर्चका सन्दर्भमा चैत्र १० अघि ४८ प्रतिशत मात्रै खर्च भएको छ । लक्षित विकास खर्च २५ प्रतिशतभन्दा बढी खर्च हुन सकेको देखिँदैन” उनले भने लक्षित अनुदान २८ प्रतिशत भन्दा बढी संकलन गर्न सकेको छैन् ।”

सांसद सिंहले नेपालको नक्सा जतिसक्दो छिटो सार्वजनिक गर्नुपर्ने पनि उक्त अवसरमा बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •