बन्दाबन्दीसँगै ठूला र प्रतिष्ठित उद्योगहरुले मजदुरविरोधी कार्य सुरु गरे – सोम तामाङ

५ जेठ ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव सोम तामाङले ठूला र प्रतिष्ठित उद्योगहरुले बन्दाबन्दीसँगै मजदुरविरोधी कार्य सुरुगरेको बताएका छन् ।

यातायात परिषद् इन्चार्ज समेत रहेका सचिव तामाङले सोमबार ठूला र प्रतिष्ठत उद्योगहरुले बन्दाबन्दी र मजदुरका मजबुरीको फाइदा उठाउँदै मजदुरहरुलाई सरकारले तोकेको अवधिको पूरा तलब सुविधा नदिएर मजदुरविरोधी कार्य गरेको बताएका हुन् ।

“ठूला र प्रतिष्ठत उद्योग सञ्चालन गर्ने रोजगारदाताहरुले बन्दाबन्दीको फाइदा उठाउँदै सरकारसँग विभिन्न सुविधाहरु माग गरिरहेका छन् तर मजदुरहरुलाई भने सरकारले तोकेको अवधिको आधारभूत तलब सुविधा दिन्न भन्नु मजदुरविरोधी कार्य हो,” मजदुर नेता तामाङले भने, “बन्दाबन्दीसँगै ठूला र प्रतिष्ठित उद्योगहरुले मजदुरविरोधी कार्य सुरु गरे ।”

मजदुर नेता तामाङले श्रम ऐनमा औपचारिक र अनौपचारिक क्षेत्रको विभेद नरहे पनि व्यवहारतः अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको दैनिकी बन्दाबन्दीबाट थप जोखिम उन्मुख रहेको बताए ।

उनले यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरु, पेट्रोलियम मजदुरहरु, अटो मोवायल्स मजदुरहरु, सरसफाई मजदुरहरु, अस्थायी, करार, दैनिक ज्यालादारी मजदुरहरु, ढुवानी सम्बद्ध मजदुरहरु, सिटी रिक्सा, विद्युतीय रिक्सा चालक मजदुरहरु, सडक मजदुरहरु साथै निमार्ण क्षेत्रमा काम गर्ने श्रमिकहरुको अवस्था बन्दाबन्दीबाट सबैभन्दा बढी प्रभावित भएको भन्दै यी क्षेत्रका मजदुरहरुलाई सरकारले विशेष व्यवस्था गर्नु पर्ने बताए ।

औपचारिक क्षेत्रमा श्रम गर्ने मजदुरहरुले पछिल्लो समय तलब सुबिधा नपाएको गुनासोहरु गर्न थालेको भन्दै सचिव तामाङले सरकारले तोकेको तलब सुविधा बिनाविभेद रोजगारदाताहरुले मजदुरलाई दिनु पर्ने बताए ।

उनले केही उद्योगहरुले बन्दाबन्दीमा मजदुरहरुलाई पूरै तलब सुविधा दिएको तर केहीले ५० प्रतिशत मात्रै दिएको भन्ने जानकारी आएको भन्दै उनले सरकारको निर्णय सबै रोजगारदाताले कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।

  •  
  •  
  •  
  •  
  •